झिलझिले, माघ ६ ।शिवसताक्षीको शिवगञ्जमा ‘बारिस्टा ट्रेनिङ’ अर्थात कफी बनाउन सिकाउने तालिम सम्पन्न भएको छ । यो तालिम ७ दिनका लागि स्थानीय ६ नम्बर वडा कार्यालयले संचालन गरेको हो ।

वडाको १ लाख रुपैयाँको आर्थिक सहयोगमा ‘बारिस्टा ट्रेनिङ’ संचालन गरिएको वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताए । उनका अनुसार वडामा केही गरौं भन्ने उत्साह बोकेका युवा युवतीलाई ‘बारिस्टा ट्रेनिङ’ प्रदान गरिएको हो । चन्द्रसूर्य सिप विकास संस्था दमकको प्राविधिक सहयोगमा वडाका २८ युवा युवतीले तालिम प्राप्त गरेका छन् ।

तालिमका प्रशिक्षक आकाश खड्काले एउटा उच्चस्तरीय मेसिनबाट २० प्रकारका कफी बनाउन सिकाइएको बताए । अन्तर्राष्ट्रिय मापदण्डअनुरूप हाल प्रचलित कफीका प्रकार बनाउन सिकाइएको उनले बताए ।

खड्काका अनुसार ‘बेसिक बारिस्टा कोर्ष’ र ‘स्पेसालिटी कफी कोर्ष’ गरी दुई तवरबाट अध्ययन गराइन्छ । बेसिक बारिष्टा कोर्षमा कफीको इतिहास र वर्तमान अवस्था, स्पेसो वेभरेज बनाउने तरिका, मेसिन संचालन विधि, दूध उमाल्ने तरिका र ग्राहकलाई सर्भिस कसरी दिने भन्ने कुरा सिकाइएको उनले बताए । ‘यो सिकाई अवधि २ हप्ताको हुन्छ । तर, बजेट अभावमा एक सातामा यो तालिम सकिएको हो,’ उनले भने ।

उनले तालिममा हाते आर्ट ट्रेनिङ (कफीमा बुट्टा हाल्न) पनि सिकाइएको बताए । कफी मेसिनको इतिहास, कफीका प्रकार, ग्रीण्डर गर्ने तरिका पनि तालिममा सहभागीलाई जानकारी गराएका थिए ।

‘बारिस्टा ट्रेनिङ’ लिएर अध्ययनका लागि विदेश गइसकेका विद्यार्थीहरू ९० प्रतिशत अष्ट्रेलिया, केही युरोप र केहीले यही कफीको व्यवसाय गरेर बसेका छन् ।

वडा अध्यक्ष खुलालले सिप सिकेर जुनसुकै कामका लागि विदेश गएपनि दुःख नपाईने बताए । त्यसैका लागि यो तालिम आयोजना गरिएको उनले बताए ।

तालिम समापन सत्रका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता पर्शुराम ढुंगानाले तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतार्न सहभागीलाई अपिल गरे ।कार्यक्रम जेष्ठ नागरिकको भेटघाट चौतारीको सभाहलमा भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्