झापा, माघ ७ गते । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८०÷८१ को तुलनामा चालु आव २०८१÷८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १६.७२ प्रतिशतले बढेको हो । गत आवको सो अवधिमा तीन लाख ३६ हजार ६६४ जनाले श्रम स्वीकृति लिएकोमा चालु आवको यस अवधिमा तीन लाख ९२ हजार ९६० जनाले श्रम स्वीकृति लिएर बिदेसिएको विभागले जनाएको छ । जुन संख्या गत आवको तुलनामा चालु आवमा ५६ हजार २९६ जनाले बढी हो ।
विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले चालु आवमा वैदेशिक रोजगारीमा जानका लागि सबैभन्दा धेरै कात्तिक र मंसिरमा श्रम स्वीकृति जारी भएको जानकारी दिए । पछिल्लो पटक नयाँभन्दा पनि बिदामा आएर पुनः श्रम स्वीकृति लिएर जाने धेरै भएकाले पनि विगतको तुलनामा संख्या बढेको उनको भनाइ छ । प्रवक्ता सुवेदीले मलेसिया जाने नेपाली श्रमिक घटे पनि गत आवदेखि नै संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब जानेको संख्या बढेसँगै श्रम स्वीकृति लिनेको संख्या बढेको जानकारी दिए । विभागका निर्देशक सुवेदीका अनुसार दसैँतिहार र छठ मनाएर फर्किने धेरै भएकाले नेपाली श्रमिकको संख्या कात्तिक र मंसिरमा धेरै भएको पुसदेखि संख्या केही घटेको बताए ।
चालु आवको छ महिनामा सबैभन्दा बढी ८४ हजार २२७ जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्