बिर्तामोड , माघ ७ । एक्सेल डेभलपमेन्ट बैंकले झापाको दमक २ स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत १ सय एक जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

झापाली समाज युएईको सहकार्यमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । झापाली समाज युएईले समाजसेवामा गरेको पवित्र कार्यलाई सम्मान गर्दै यसमा एक्सेल डेभलपमेन्ट बैकले विगतदेखि नै सहयोग गर्दै आइरहेको छ । समाजले गर्ने हरेक सामाजिक कार्यमा बैकले हिजोबाट नै सहयोग गर्दै आएको र आगामी दिनमा समेत समाजसेवाको पवित्र कार्यमा सहयोग गर्ने बैंकका सिइओ डा. इन्द्रकुमार कट्टेलले बताए ।
यो पवित्र कार्यमा सहयोग गर्ने बैंकलगायत सम्पूर्णप्रति समाजका नेपाल सम्पर्क समितिका अध्यक्ष राजेन्द्रकुमार दाहालले धन्यवाद दिएका छन् । कार्यक्रममा समाजले हालसम्म गरेका सम्पूर्ण गतिविधिलाई समेटेर तयार पारिएको वृत्तचित्रको संक्षिप्त भाग प्रस्तुत गरिएको थियो । वृत्तचित्रको पुरा भाग समय मिलाएर केही दिनपछि प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरी सहयोग गरेकोमा विद्यालयका प्रधानाध्यापक प्रेम पाण्डेले समाजका सदस्यलाई धन्यवाद दिएका छन् । त्यस्तै दमक नगरपालिका २ का वडा सदस्यले समाजले गरेको कामको प्रशंसा गरेका थिए । न्यानो कपडा वितरणबाट साना विद्यार्थीहरु लाभान्वित भएका छन्।
झापाली समाज युएई नेपाल सम्पर्क समितिका सचिव मित्रलाल पोख्रेलले सञ्चालन गरेको कार्यक्रममा पूर्व केन्द्रीय सदस्य प्रदिपकुमार संग्रौलाले स्वागत गरेका थिए । कार्यक्रममा बैंकका सिइओ डा. इन्द्रकुमार कट्टेल, मार्केटिङ अफिसर गजेन्द्र ढकाललगायतको उपस्थिति थियो । यस बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेको र सो प्रदेशभित्र ४७ वटा शाखाहरु रहेका छन् । बैंकले ३ वटा एटीएम मेशिनबाट सेवा प्रदान गरिरहेको छ ।