लक्ष्मी उप्रेती
मेचीनगर । १८ मंसिरमा झापाको मेचीनगर नगरपालिका–११ स्थित तेलिबारीमा बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक भद्रपुर नगरपालिका–१० का ५५ वर्षीय किसन न्यौपानेको मृत्यु भयो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–११ स्थित तेलिबारीमा बागमती प्र–०१– ००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक न्यौपाने गम्भीर घाइते भएका थिए ।उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले न्यौपानेलाई मृत घोषित गरेका थिए ।
१ पुषमा दमक नगरपालिका वडा नं. १० सेतुमारी चोकनजिक भित्री सडकखण्डमा भएको सडक दुर्घटनामा दुई जनाको मृत्युु भयो ।
सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैँ गरेको प्रदेश न. १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार गौरादह नगरपालिका वडा नं. ५ बस्ने बर्ष ३२ की जमुना धिमाल र सोही स्थान बस्ने वर्ष २५ की मनचरी राई भनिने ओमकुमारी राईको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको हो ।
४ पुषमा मेचीनगरमा भएको मोटरसाइकल दुर्घटनामा चालक मेचीनगर ६ का ३४ वर्षीय दिवस प्रधानको मृत्यु भयो । मेचीनगर —८ मकरेचोकस्थित भित्री पक्की सडकखण्डमा इटाभट्टादेखि नकलबन्दातर्फ जाँदै गरेको मे ७ प १२३४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा चालक प्रधानको मृत्यु भएको हो ।
यी प्रतिनिधि घटना मात्र हुन् । झापा जिल्लाभरिमा दैनिक साना–ठुला सडक दुर्घटना भइरहन्छन् । सडक दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल(दुई पाङग्रे)सवारी साधनका चालक र त्यसमा सवार यात्रुको मृत्यु हुने गरेको तथ्यांक ठूलो छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को ६ महिनामा झापामा मोटरसाइकल दुर्घटनाबाट ३७ जनाको ज्यान गएको छ । मोटरसाइकल र स्कुटरजस्ता साधन ठूला गाडीको कारणले मात्र होइन, आफ्नै कारणले पनि असुरक्षित बनिरहेका छन् ।सवारी दुर्घटना भित्री सडकमा समेत भएका छन् । अझ प्रहरी अनुपस्थित हुने क्षेत्रमा पुरै लापरवाही हुने गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार यो अवधिमा झापाका विभिन्न ठाउँमा ४ सय ४५ वटा मोटरसाइकल दुर्घटना हुँदा ३ बालक, ७ महिला र २७ पुरुषगरी कुल ३७ जनाको मृत्यु भएको हो । सोही अवधिमा दुर्घटनामा परेर ६ सय ८३ जना मानिस घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।
उनका अनुसार घाइते हुनेमा सबैभन्दा बढी ४ सय ८२ जना पुरुष छन् । यसैगरी, १ सय ३५ महिला तथा ३३ बालक र ३३ बालिकासमेत घाइते भएका छन् ।
सवैभन्दा बढी असोज महिनामा ९० वटा मोटरसाइकल दुर्घटनामा ८ पुरुष र २ महिलासहित १० जनाको ज्यान गएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । ८६ पुरुष, ३० महिला तथा बालक र बालिका १०÷१० गरी कुल १ सय ३६ जना सो महिनामा घाइते भएका थिए । अन्य महिनाको तुलनामा चाडपर्व परेका कारण असोजमा बढी दुर्घटना भएको र मानवीय क्षतिसमेत बढी भएको उनको भनाई छ । पुषमा सवैभन्दा कम भएका ६० वटा दुर्घटनामा परी १÷१जना महिला र पुरुषको ज्यान गएको र ८९ जना मानिस घाइते भएको अभिलेख छ । पुष महिनाको दुर्घटनामा परी ७३ पुरुष, १० महिला , ४ बालक र २ बालिका घाइते भएका थिए ।
मोटरसाइकल दुर्घटना गाउँमा भन्दा बढी सहरी क्षेत्र र भित्री सडकखण्डमा बढी हुने गरेको छ । एकजना प्रहरी अनुसन्धान अधिकृतका अनुसार मोटरसाइकल दुर्घटनामा दुईजना चढेको अवस्थामा पछि बस्नेलाई बढी क्षति हुने गरेको छ ।
मोटरसाइकल दुर्घटना तीव्र गति, ट्राफिक नियम उल्लंघन, जथाभावी ओभरटेकलगायत ट्राफिक नियम पालना नगर्दा हुने गरेको प्रहरी निरीक्षक पौडेलको भनाई छ । उनका अनुसार चारपांगे्रको तुलनामा दुईपांगे्र सवारीसाधन बढी दुर्घटनामा पर्ने गरेका छन् । जसमा दुईपांग्रे मोटरसाइकल–स्कुटीको दुर्घटना ८० प्रतिशत र चारपांग्रे गाडी दुर्घटना २० प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।