झापा,माघ ८ । विद्यालय शिक्षा विधेयक पारित गराउन दबाब दिने उद्देश्यका साथ शिक्षकहरूले फेरि काठमाडौँ केन्द्रित आन्दोलनको तयारी गरेका छन् । लामो समय बितिसक्दा पनि विद्यालय शिक्षा विधेयकको टुङ्गो लाग्न नसकेको भन्दै शिक्षकहरूले दबाब दिन आन्दोलनको तयारी थालेका हुन् । विधेयक अहिले संसद्को शिक्षा समितिमा छलफलको क्रममा रहेको छ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक चाँडो टुङ्गो लगाउन दबाब दिने उद्देश्यले निर्णायक आन्दोलनको तयारी गरेको जनाएको छ । जसअनुसार महासंघले त्यसको पूर्व तयारीका लागि माघ १६ र १७ गते काठमाडौँमा राष्ट्रिय समितिको बैठक आह्वान गरेको छ ।शिक्षक, कर्मचारी, विद्यार्थी र विद्यालय मैत्री शिक्षा ऐन जारी गराउन एउटा निर्णायक आन्दोलन गर्नुपर्ने अवस्था आएको महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
त्यसका लागि आवश्यक, रणनीति र कार्यक्रम तय गर्न महासंघको राष्ट्रिय समितिको तेस्रो पूर्ण बैठक आह्वान गरिएको अध्यक्ष सुवेदीले बताए । महासंघले ऐन जारी गराउन दबाब दिने उद्देश्यले आन्दोलनको तयारी गरिरहेको बेला सरकारले अध्यादेश मार्फत निवृत्तभरण कोष ऐन २०७५ संशोधन गरेको थियो । ऐन संशोधन गर्दै सरकारले शिक्षकहरूलाई समेत कोषमा समावेश गर्ने भएको थियो । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गरेर त्यसपछि उक्त व्यवस्था गर्नुपर्नेमा ऐन नल्याउने मनसायका साथ विधेयक संशोधन गरिएको आरोप लगाएका छन् ।२०७५ सालमा ऐन जारी गर्ने तर, शिक्षकहरूलाई २०८१ सालमा आएर कोषमा समावेश गराउने मनसाय देखिएको भन्दै शिक्षकहरूले त्यसका लागि समेत आन्दोलन गर्नुपर्ने चेतावनी दिएका छन् । यस विषयमा भने शिक्षामन्त्री विद्या भट्टराईले २०८१ पुस २९ गते विधेयक जारी भए देखिको हकमा मात्रै योगदानमा आधारित पेन्सन योजनामा समावेश गरिने प्रस्ट पारेकी छन् । शिक्षकहरूले भने यसलाई समेत आन्दोलन कमजोर पार्ने मनसायले आएको आश्वासन भनेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्