झापा, माघ १३ । सुनसरीको धरानमा भएको मोटरसाइकल दुर्घटनामा दुई प्रहरी गंभीर घाइते भएका छन् ।

गएराति ११.४५ बजे धरान– ८ भोटेपुलस्थित धनकुटा–इटहरी सडकखण्डमा डिउटीको सिलसिलामा इलाका प्रहरी कार्यालय धरानबाट भोटेपुलतर्फ जाँदै गरेको को २० प ६५६२ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा इप्रका धरानमा कार्यरत मोटरसाइकल चालक प्रहरी चौकी महेशपुर झापा दरबन्दी भएका प्रहरी सहायक हवल्दार आईतराज पालुङ्वा लिम्बू र मोटरसाइकलमा पछाडी सवार इप्रका धरान दरबन्दी भएका प्रहरी हवल्दार सुर्तिलाल चौधरी घाइते भएका छन् ।

दुवैको टाउकोमा चोट लागेको छ । उनीहरुलाई उपचारको लागि बी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । दुवै घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्