
झापा,माघ १३ । हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाटै थालिएको पहल प्रभावकारी भएको छ । ‘स्नो लेपर्ड कन्सर्भेन्सी’ टेका समूह नेपालको आर्थिक तथा प्रविधिक सहयोग र हिमाली संरक्षण मञ्चको सहजीकरणमा हिउँ चितुवा संरक्षण अभियान सुरु गरिएको छ । विसं२०७८ देखि जिल्लाका विभिन्न विद्यालयमा हिउँ चितुवा संरक्षणसम्बन्धी शिक्षा प्रदान गर्न थालिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । उनका अनुसार हाल जिल्लामा ‘हिउँ चितुवा संरक्षण शिक्षा सन्दर्भ’ पाठ्यपुस्तक भाग–१, २, र ३ का माध्यमबाट अध्ययन हुँदैछ । हिमाली क्षेत्रका विद्यालयमा हिउँ चितुवाका विषयमा अध्ययन हुँदै आएको छ । फक्ताङलुङ गाउँपालिकाको घुन्सा आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय र रविकला माध्यमिक विद्यालयमा यो अध्ययनलाई विशेष प्राथमिकता दिइएको छ । यस्तै, मिक्वाखोला गाउँपालिकाको साँवा माध्यमिक विद्यालय र बालदेन माध्यमिक विद्यालयका कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई पनि हिउँ चितुवा संरक्षणसम्बन्धी शिक्षा प्रदान गरिँदै आएको छ । सिरिजङ्घा गाउँपालिकाको सरस्वती माविलाई समेत समेट्दै ताप्लेजुङका छवटा विद्यालयमा हाल तीन सय ७८ विद्यार्थीले हिउँ चितुवाका विषयमा अध्ययन गर्दै आएका छन् ।
हिमाली संरक्षण मञ्चको सहजीकरणमा यहाँ हिउँ चितुवा संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । नेचर टुर, रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण र हिउँ चितुवा प्रकृति भ्रमणजस्ता कार्यक्रममार्फत विद्यार्थी र समुदायलाई संरक्षणप्रति जागरूक कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक राईले बताए । राईका अनुसार समुदायसँग चिया–कफीका कार्यक्रम आयोजना गर्दै हिउँ चितुवाको महत्त्वबारे छलफल गरिँदै आएको छ । प्रत्येक वर्ष कात्तिक ७ गते अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरिन्छ । यस दिन विद्यार्थी र समुदायलाई लक्षित गरी विविध क्रियाकलाप सञ्चालन हुने गर्छ ।