
झापा,माघ १३ । अब विदेशी नागरिकका निम्ति सगरमाथा चढ्दा लाग्ने खर्च बढ्ने भएको छ । सरकारले विदेशी आरोहीका लागि प्रतिव्यक्ति साढे पाँच लाखभन्दा धेरै दस्तुर बढाएको हो । यसअघि विदेशी नागरिकले नेपाल राष्ट्र बैंकले जारी गरेको शुक्रबारको सटही दर अनुसार १५ लाख १७ हजार ७ सय ८० रुपैयाँ दस्तुर बुझाउँथे । अब भने यस्तो दस्तुर २० लाख ६९ हजार ६ सय ७६ रुपैयाँ पुगेको छ ।२०२४ को वसन्तकालीन सिजनमा सगरमाथामा ४ सय १९ जनाले अनुमति लिएका थिए । जसमध्ये विदेशी नागरिकको संख्या ३ सय ४३ रहेको थियो । पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले पर्वतारोहणसम्बन्धी नियमावलीलाई छैटौं पटक संशोधन गर्दै सलामी दस्तुर वृद्धि गरेको विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीले बताए । यो नियम २०८२ भदौ १६ देखि लागू हुनेछ ।
सगरमाथा आरोहणमा सरकारले उठाउने सलामी रकम सस्तो भएका कारण भीडभाड लाग्ने, फोहोरमैला बढेको लगायत गुनासो बढेपछि सरकारले विदेशी आरोहीबाट संकलन गरिने दस्तुर वृद्धि गरेको हो । नियमावलीले संशोधन गरेका बिमा लगायत अन्य बुँदा तत्कालै लागू भए पनि अहिलेको वशन्तकालीन हिमाल आरोहण सिजनमा सलामी दस्तुर रकमको नियम नयाँ लागू नभई पुरानै लागू हुने लेखिएको छ । नियमावलीले पर्वतीय पथप्रर्दशक र उचाइमा जाने कामदारलाई आरोहण कम्पनीले दिने दैनिक भत्ता, बिमा लगायत शुल्कमा पनि वृद्धि गरेको छ । अब आधार शिविरभन्दा माथि लैजाने मालसामानको संख्या र वजन पनि खुलाउनु पर्नेछ । त्यस्तै नयाँ कीर्तिमान राख्ने उद्देश्यले पर्वतारोहण गर्ने भए विवरण पनि खुलाउनुपर्ने नियमावलीमा थप गरिएको छ । त्यस्तै हिमाल आरोहण नगरी बीचबाटै फर्केर, आरोहण गरेको भनी झूटा विवरण पेस गरेर प्रमाणपत्र लिने विगतका घटनालाई न्यूनीकरण गर्न नियमावलीले अब पर्वतारोही दलको सम्पर्क अधिकृत, आरोहण दलको नेता, सम्बन्धित कम्पनी÷एजेन्सीले पर्यटन मन्त्रालयमा पर्वतारोहण गरको प्रमाणित कागजात, हिमाल आरोहणमा हिमालचुली पृष्ठभूमिमा देखिने मुखाकृतिसहितको तस्बिर, हिमाल आरोहण गरेको स्वघोषणा पनि बुझाउनुपर्ने व्यवस्था ल्याएको छ ।
नयाँ नियमले आधार शिविरभन्दामाथि दिसा पिसाबको व्यवस्थापनका लागि पर्वतारोही दलका सदस्यले जैविक रुपमा नष्ट हुने शौच थैली (बायोडिग्रेडेबल पुप ब्याग) को प्रयोग गर्नुपर्ने छ । आरोहणमा जाने सरदार, पर्वतीय पथ पदर्शक र उचाइमा जाने कामदार प्रत्येकको अब २० लाख रुपैयाँ र आधार शिविरका कामदारको प्रतिव्यक्ति १५ लाख रुपैयाँ बराबरको बिमा पनि अनिवार्य गर्नुपर्ने छ । यसअघि उचाइमा काम गर्नेको बिमा १५ लाख र आधार शिविरमा काम गर्नेको ८ लाख रुपैयाँ बराबरको बिमा गर्नुपर्ने नियम थियो ।
नयाँ नियम अनुसार हिमाल आरोहणमा जानेले आधार शिविरसम्म आफ्ना परिवारका सदस्यलाई पूर्वस्विकृति लिई लैजान पाउने छन् । तर परिवार सदस्यलाई बढीमा दुई रातमात्रै विभागले आधार शिविरमा बस्न अनुमति दिनेछ । अब हरेक ८ हजार मिटर अग्ला हिमाल आरोहणमा हरेक दुई जना आरोहीले दुई जना गाइड अनिवार्य लिनुपर्ने छ । नेपालले सगरमाथासहित ४ सय ६१ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । सन् २०२४ को वसन्तयाममा पर्यटन विभागले हिमाल आरोहणबापत ६७ करोड ४७ लाख रुपैयाँ सलामी रकम संकलन गरेको थियो । यसमा सगरमाथाबाट मात्रै ५९ करोड २३ लाख रुपैयाँ संकलन भएको थियो ।


