झापा,माघ २० । अस्ट्रेलियाका चित्रकारले दिक्तेलमा विद्यार्थीलाई निःशुल्क चित्र कोर्न सिकाउन सुरु गरेका छन् । तीन महिनासम्म निःशुल्क विद्यार्थीलाई चित्र बनाउन सिकाउन आएका अस्ट्रेलियाका वरिष्ठ चित्रकार रे मार्सदेनले दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क पढाउन सुरु गरेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अघिल्लो वर्ष आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीमा भाग लिन आएका कलाकार मिस्टर रे अहिले विद्यार्थीलाई चित्र बनाउन सिकाउन आइपुगेका हुन् ।
दिक्तेल वरिपरिका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका ३५ जना विद्यार्थी चित्रकला कक्षामा सहभागी भएका छन् । एक महिनासम्म सरस्वती माध्यमिक विद्यालयमा उक्त विद्यार्थीहरुले चित्र बनाउन सिक्ने नगरपालिकाले जनाएको छ । त्यसपछि पुनः अर्को विद्यालयमा लगेर नजिकका विद्यार्थी समेटेर चित्र बनाउन सिकाउने तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले बताए ।
हाल मिस्टर रे तीन महिनाको लागि नेपाल आएका हुन् । भिजा मिलेमा अन्य समय पनि खोटाङमा बसेर विद्यार्थी पढाउने उनको तयारि छ ।