बिर्तामोड , माघ २० । झापा बिर्तामोड ८ का युवा समाजसेवी चिरञ्जीवी कार्कीले ५६ गरिव तथा निमुखा परिवारलाई खाद्यान्न र न्यानो लुगा वितरण गरेका छन् ।

आफ्ना स्वर्गीय पिता पूर्व जनप्रतिनिधि खड्गबहादुर कार्कीको १३ औ दिनको पुण्यतिथि सकेपछि उनले बिर्तामोड ८ का गरिव , असहाय र अपांगहरुलाई एक–एक थान ब्लांकेट , ४–४ केजीका दरले चिनी र आटा , ५ केजी चामल र आधा लिटरका दरले खानेतेल वितरण गरेका हुन् । वडा नं ८ मा रहेको १४ वटा टोलका ४ जनाका दरले सामग्री वितरण गरिएको हो । पिताको स्वर्गबासपछि गुरु पण्डितहरुलाई दान दक्षिणा दिएर गर्नुपर्ने धर्मसंगै मानवीय हिसाबले आफूले कर्म निर्वाह गरेको कार्कीले बताए । कार्की गत स्थानीय तहको निर्वाचनमा बिर्तामोड ८ बाट वडाध्यक्षको पदमा उठेका थिए ।

उनका पिता साविक गरामनी गाउँ पञ्चायत र गाउँ विकास समितिका पूर्व जनप्रतिनिधि खड्गबहादुर कार्कीको माघ ७ गते बेलुका ८१ वर्षको उमेरमा निधन भएको थियो । वि. सं. २०४२ देखि २०५४ सम्म साविक गरामनी गाउँ पञ्चायत र त्यसपछि गाउँ विकास समिति वडा नं ४ को उनी लगातार दुई पटक वडाध्यक्ष भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्