लक्ष्मी उप्रेती,

मेचीनगर । यही माघ २२ देखि २९ गतेसम्म पाठेघरको क्यान्सरविरुद्ध दिईने एचपिभी खोप अभियानलाई प्रभावकारी बनाउन झापाको मेचीनगर नगरपालिकाले सवैलाई आग्रह गरेको छ ।

विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका किशोरीहरु र विद्यालय नजाने १० देखि १४ वर्षसम्म उमेरका किशोरीहरुलाई एचपिभी खोप प्रदान गरी पाठेघरको मुखको क्यान्सर निवारण गर्नमा योगदान पुर्याउने अभियानको लक्ष्य रहेको छ ।

मेचीनगर नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाको सभाहलमा नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले पाठेघरको मुखको क्यान्सर रोगको अवस्था , एचपिभी खोप र अभियानको औचित्यमाथि प्रकाश पारिन् । माघ २२ देखि २९ गतेसम्म पालिकाभित्र खोप अभियान सञ्चालन हुने जनाइएको छ । २८ गतेसम्म विभिन्न विद्यालयमा रहेका खोपकेन्द्रबाट र २९ गते खोप लगाउन छुटेकाहरुलाई सम्बन्धित वडाको स्वास्थ्य केन्द्रबाट लगाउने योजना छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले खोप समन्वय समिति, नगरका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधिहरू,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अन्नतप्रकाश वस्तीसहित विभिन्न शाखाका प्रमुखहरू स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सराकोरवाला निकायको बिचमा गरेको अभिमुखीकरणमा नगरभित्रका सामुदायिक तथा नीजि विद्यालयका कुल ५ हजार ९ सय ८२ जना छात्रा तथा विद्यालय बाहिरका कुल १ हजार ८२ गरी कुल ७ हजार ६४ जनालाई एचपिभी खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य शाखा संयोजक सापकोटाले जानकारी दिइन् ।

उनका अनुसार खोप अभियान सञ्चालनका लागि नगरभित्र १ सय ७२ वटा खोपकेन्द्र निर्धारण गरिएको छ । नगरभित्रका सामुदायिक तथा निजी विद्यालय तथा स्वास्थ्य केन्द्रलाई खोपकेन्द्र निर्धारण गरिएको हो । जसका लागि एकसय स्वास्थ्यकर्मी र १ सय ९४ जना स्वयम्सेवकसहित २ सय ९४ जना जनशक्ति परिचालन गरिने शाखाका सहसंयोजक राजप्रसाद अधिकारी (पुजन) ले जानकारी दिए ।

मेचीनगर नगरपालिकाका उपप्रमुख उप्रेतीले दोस्रो समस्याका रुपमा पाठेघरको क्यान्सर देखिएकाले यसको विरुद्ध सञ्चालन हुन लागेको खोप अभियान सफल बनाउन सवैको दायित्व हुने बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्