झापा,माघ २१ । मुलुकको आन्तरिक अर्थतन्त्र शिथिल भए पनि अर्थतन्त्रका बाह्य क्षेत्रमा भने राम्रै सुधार देखिएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको ६ महिनाको तथ्यांकअनुसार मुलुकबाट बाहिरिनेभन्दा भित्रिने विदेशी मुद्रा धेरै छ।
त्यसैकारण शोधनान्तर स्थिति निरन्तर बचतमा छ। महिनैपिच्छे रेमिट्यान्सको आकार बढ्दो छ। मुलुकको विदेशी विनिमय सञ्चितिको आकार पनि निकै बढेर २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ। यसबाट मुलुकले १४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने स्थिति बनेको छ। विशेष गरेर सरकारले अर्बौं खर्चेर लगानी सम्मेलन गरे पनि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिन नसकेको यथार्थता छ। तर, पछिल्लो तथ्यांकले भने एफडीआईमा झिनो सुधार भएको देखिन्छ। चालु आर्थिक वर्षको पुससम्ममा ६ अर्ब ५० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.१४ प्रतिशत अर्थात् १ अर्ब ९६ करोड रुपैयाँ बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ४ अर्ब ५४ करोड रुपैयाँ भित्रिएको थियो।
वैदेशिक रोजगारीबाट प्राप्त गर्ने विप्रेषणमा भने राम्रै सुधार देखिएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ६ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले विप्रेषण (रेमिट्यान्स) आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएको छ। अर्थात्, ६ महिनामा ७ खर्ब ६३ अर्ब ८ करोड रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो।