झापा, माघ २१ । झापाको बिर्तामोडमा अहिलेसम्मकै ठूलो धार्मिक र्याली निकालिएको छ ।
बिर्तामोड ५ मा नवनिर्मित गायत्री माताको मन्दिरमा प्राण प्रतिष्ठा गर्नुअघि आज बिहान निकालिएको धार्मिक र्याली अहिलेसम्मकै ठूलो भएको बताइएको छ । नेपालका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको सहभागितामा निकालिएको र्यालीमा २ हजार बढी सहभागी रहेको आयोजकले जनाएको छ । सहभागीहरुका लागि करिव २ हजार वटा गायत्री माताको झन्डा तयार गरिएको थियो ।
नौमती बाजा, सुरक्षा निकायका ब्यान्ड, सन्थाल नृत्य ,स्काउटसहितको र्यालीमा भक्तजन, विभिन्न संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो । गायत्री माताको मन्दिरबाट शुरु भएको र्याली मुक्तिचोकदेखि इलाका प्रहरी कार्यालय अगाडिबाट भद्रपुर रोड घुमेर पुनः गायत्री मन्दिरमै पुगेर समापन भएको थियो ।
यसअघि पाँच दिवसीय धार्मिक अनुष्ठान आयोजना गर्नुअघि पनि र्याली निकालिएको थियो । गत माघ १७ गतेदेखि शुरु भएको अनुष्ठानको उद्घाटन प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेले गरेका थिए ।
गायत्री मन्दिर अढाई करोड रुपैयाँको लागतमा निर्माण गरिएको हो । कोशी प्रदेश सरकारको ४० लाख, बिर्तामोड नगरपालिकाको १५ लाख रुपैयाँ र स्थानीय दाताको सहयोगमा तयार गरिएको मन्दिर निर्माण समिति संयोजक रोनक वंशलको भनाई छ ।