झिलझिले, माघ २४ ।जेष्ठ नागरिकहरू आफ्नै घरमा पनि सुरक्षित महसुस गर्न नसकिरहेको तथ्य बाहिरिएको छ ।
झापाको शिवसताक्षी नगरपालिकाका सबै वडामा यस्तो समस्या रहेको जेष्ठ नागरिक स्वयम्ले बताए । उनीहरूले भने,‘सरकारले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्तालगायतका विविध कार्यक्रमहरू दिएर खुसी दिएको छ । तर, घरमा आफ्नै नातिनातिनाका कारणले जीवनको उत्तरार्धमा बेखुसी अर्थात् त्रासपूर्ण जीवन बिताउनु परेको छ ।’
शिवसताक्षी नगरपालिकामा सञ्चालित जेष्ठ नागरिकसँग मेयर कार्यक्रममा बिहीवार एकजना जेष्ठ नागरिकले यो समस्या नगर प्रमुख मेगाहाङ थोप्रालाई सुनाउँदा कार्यक्रममा सहभागी कम्तिमा १५० जेष्ठ नागरिकले ताली बजाएर उनको कुरालाई समर्थन गरे ।
घरका नातिनातिनामा लागूऔषधको विकराल समस्या रहेको जेष्ठ नागरिकले बताए । लागूऔषधको सेवनले नातिनातिनामा आर्थिक, मानसिक र शारीरिक समस्या छ । सरकारले आफूलाई दिने सामाजिक सुरक्षा भत्तासम्म माग गर्ने, नदिए रिसाएर हिंसात्मक व्यवहार गर्ने गरेको उनीहरुले बताए । नाम उल्लेख गर्न नचाहने एक जेष्ठ नागरिकले भने,‘ मलुकका कतिपय स्थानमा यस्ता घटनाले ज्यानको जोखिम पनि उत्पन्न भएको छ ।’
समस्याको उजागर गर्दै जेष्ठ नागरिकहरूले भनेका छन्, ‘हाम्रो जीवन यति कठिन भइसकेको छ । हामी घरमै सुरक्षित छैनौँ ।’ शारीरिक, मानसिक, आर्थिक, सामाजिक पीडासम्म बोकेका जेष्ठ नागरिकको यो पीडा विकराल हुँदै गएको उनीहरुले बताए ।
समाजमा वृद्धवृद्धाका लागि पर्याप्त सुरक्षा र सम्मानको आवश्यकता छ । जेष्ठ नागरिकलाई यो समस्याबाट उन्मुक्ति दिलाउनका लागि सरकारले मात्र होइन, समाजका हरेक सदस्यले एकजुट भएर काम गर्न आवश्यक रहेको नगर प्रमुख मेगाहाङ थोप्राले बताए । वृद्धजनको जीवनमा शान्ति र सम्मान पुर्याउन मात्र तिनीहरूको समस्याहरूको समाधान गर्न सकिने उनले बताए ।
जेष्ठ नागरिकको समस्या, गुनासा, सल्लाह र सुझाव संकलन गर्ने उद्धेश्यले शिवसताक्षी नगरमा ‘जेष्ठ नागरिकसंग मेयर’ कार्यक्रम संचालित छ । यो पटको कार्यक्रममा साविकका धरमपुरका लागि मंगलबार, शिवगञ्ज र पाँचगाछीका लागि शिवगञ्ज र सतासीधामका लागि दुधेमा कार्यक्रम संचालन गरिएको थियो । नगर प्रमुख थोप्राका अनुसार नगरका कम्तिमा ६ सय जेष्ठ नागरिकसंग दोहोरो छलफल भयो । थोप्राले भने, ‘जेष्ठ नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी भयो । पछिल्ला दिनमा यो कार्यक्रमलाई निरन्तरता दिईने छ ।’
नगर प्रमुख थोप्रासंग जेष्ठ नागरिकले स्वास्थ्य विमा, सार्वजनिक यातायातका साधनमा छुट नदिएकोलगायतका विषयमा गुनासा सुनाएका थिए ।
सो कार्यक्रममा वडा नम्बर ८ का सागर चापागाईँ, लक्ष्मी अधिकारी, वडा नम्बर ९ का मनमाया जवेगु, सत्यनारायण चौधरी, वडा नम्बर १० का कृष्णध्वज लिङ्देन, चन्द्रकला भट्टराई , वडा नम्बर ११ का कौशिला खनाल र पदमप्रसाद जवेगुलाई नगर प्रमुख थोप्राले सम्मान गरेका थिए ।