झापा, माघ २५ । पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । एक वर्षका बिचमा भाउ नमहँगिएको उपभोग्य वस्तु नै छैन । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको एक वर्षका बिचमा सबै जसो उपभोग्य वस्तुको भाउ औसतमा १५ प्रतिशत महँगिएको छ । सङ्घका उपाध्यक्ष नरेश शाही (खड्गी) ले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ४० प्रतिशतसम्म महँगिए पनि औसतमा १५ प्रतिशतसँग महँगो भएको पाइएको जानकारी दिए । सङ्घका अनुसार गत माघमा भुटेको तोरीको तेल प्रतिलिटर ३६० रुपियाँ रहेकोमा यो वर्षको माघमा बढेर प्रतिलिटर चार सय रुपियाँमा कारोबार भएको छ । यस्तै काँचो तोरीको तेल प्रतिलिटर ३१०÷३२५ रुपियाँ रहेको छ । भटमास र सनफ्लावर तेल प्रतिलिटर दुई सय रुपियाँ रहेकोमा यस पटक बढेर २४५ रुपियाँमा कारोबार भएको छ । त्यसै गरी गहुँ प्रतिकेजी ६० रुपियाँबाट बढेर ७५ रुपियाँ, चिउरा प्रतिकेजी एक सयदेखि १४५ रुपियाँमा पाइएकोमा यस पटक बढेर प्रतिकेजी १२० रुपियाँदेखि १६० मा किनबेच भइरहेको छ । यस अवधिमा दाल, गेडागुडी, आँटा, मैदालगायतको भाउ १० देखि १५ प्रतिशतसम्म महँगिएको सङ्घका उपाध्यक्ष शाहीको भनाइ छ । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले महँगी भएका वस्तुका खाद्यपदार्थको मात्रै चर्चा हुने गरेको तर एक वर्षका बिचमा लत्ताकपडा, भाँडाकुँडा, विद्युतीय सामग्रीलगायतका सबै वस्तुको भाउ बढेको बताए । उनले सरकारसँग बजारमा कुन वस्तुको कति माग हो, कति खपत हुन्छ भन्ने कुनै तथ्याङ्क नभएका कारण बजार केही मुठीभर व्यापारीको नियन्त्रणमा भएकाले उपभोक्ता सधैँ मारमा पर्नुपर्ने अवस्था रहेको बताए ।
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको छ महिनाको उपभोग्य वस्तुको मूल्यवृद्धि लगातार बढेको तथ्याङ्क सार्वजनिक गरेको छ । मूल्यवृद्धि पुसमा बढेर वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत थियो । यस अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ५.७५ प्रतिशत र ४.९३ प्रतिशत रहेको थियो । खाद्य तथा पेयपदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २८.५२ प्रतिशत, घिउ तथा तेलको १०.६७ प्रतिशत, दाल तथा गेडागुडीको ९.४८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ७.२३ प्रतिशतले बढेको छ भने मरमसला उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.१२ प्रतिशतले घटेको छ ।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७३ प्रतिशत, मधेश प्रदेशको ५.९६ प्रतिशत, बागमती प्रदेशको ५.१४ प्रतिशत, गण्डकी प्रदेशको ४.३७ प्रतिशत, लुम्बिनी प्रदेशको ४.८३ प्रतिशत, कर्णाली प्रदेशको ४.६० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.६७ प्रतिशत रहेको छ ।
काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत, तराईको ५.६० प्रतिशत, पहाडको ५.४१ प्रतिशत र हिमालको ५.२७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्