झापा,माघ २५ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा निर्माण सामग्रीको गुणस्तर परीक्षण (टेस्ट) गर्न सुरु गरिएको छ । गाउँपालिकाले पालिकाभित्र सञ्चालित ठूला तथा गौरवका योजनामा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर (ल्याव) परीक्षण गर्न सुरु गरेको हो ।
गाउँपालिकाले निर्माण सामग्रीको अनिवार्य गुणस्तर टेष्ट गर्नेगरी नीति नै अवलम्बन गरेको जनाएको छ । गुणस्तर परीक्षणको नीति अघि सारेसँगै निर्माण सामग्रीको ल्याब परीक्षणका लागि नमुना सङ्कलन गर्न थालिएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले जानकारी दिए ।
अध्यक्ष पोमुका अनुसार गाउँपालिका मातहतअन्तर्गत सञ्चालनमा रहेका क्रमागत, ठूला र गौरवका योजना निर्माणमा प्रयोग भएका सामग्रीको गुणस्तर परीक्षणका लागि नमुना सङ्कलन गर्न सुरु गरिएको हो । सङ्कलन गरिएका निर्माण सामग्रीको नमुना सरकारी निकायका मान्यता प्राप्त ल्याब परीक्षण केन्द्रमा परीक्षणका लागि पठाइएको उनले जानकारी दिए ।
गुणस्तर परीक्षणका लागि पठाएको नमुनाको नतिजाका आधारमा निर्माण सामग्री प्रयोगलाई सम्बन्धित योजना निर्माणको काममा निरन्तरता दिने वा नदिने विषयको निक्र्याेल हुने गाउँपालिका अध्यक्ष पोमुको भनाइ छ । उनका अनुसार विकास निर्माण तथा पूर्वाधारका कामलाई गुणस्तरीय बनाउनुका साथै पारदर्शी काम होस् भन्ने उद्देश्य राखी निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्ने कार्य सुरु गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्