झापा, माघ २८ । झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतवार हल्दीबारी गाउँपालिका–३ मा प्रहरी चौकी जलथलबाट खटिएको प्रहरी टोलीले लागूऔषध बेचबिखन तथा ओसार पसारमा संलग्न हल्दीबारी गाउँपालिका–२ का २२ बर्षीय आशिष हेमरम, २३ बर्षीय रवि महतो, ३१ बर्षीय सुजन राईलाई ४८० मिलिग्राम ब्राउनसुगर र बा. ४७ प ९८१४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले दमक नगरपालिका–६ बाट इलाम चुलाचुली घर भई हाल दमक–५ स्थित बस्दै आएका २५ बर्षीय रोहित राई र दमक–७ का ३० बर्षीय राजेश राईलाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा १५० चक्की र दमक–८ का २५ बर्षीय प्रतिक श्रेष्ठलाई ट्रामाडोल, स्पास्मो र स्पास्पेन गरी जम्मा २२० चक्कीसहित सोही स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उता भोजपुरको भोजपुर नगरपालिका–९ बाट लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतवार जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले टेम्केमैयुङ गाउँपालिका–२ का २२ बर्षीय कन्चन बस्नेतलाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा २० चक्की लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यस्तै भोजपुर नगरपालिका–९ का अनिल राई र उनका दाजु रमेश राईलाई उनीहरुको घर कोठा खानतलासी गर्दा सुत्ने कोठाबाट ट्रामाडोल २ हजार ५० चक्की, स्पासपेन २ हजार ७० चक्की, १२० ग्राम गाँजा र नगद ९७ हजार १० रुपैँयाँ बरामद गरेको छ ।