बिर्तामोड, माघ ३० । झापाको बिर्तामोड–६ स्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा जारी हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको बुधवार भएका खेलमा सुनगाभा, निदि र बाल्मीकि स्कुल बिजयी भएका छन् ।

आजको पहिलो खेल सुनगाभा इङ्गिलस स्कुल र गोमेन्द्र बिर्ता मोडलबिच भएको थियो । त्यस खेलमा पेनाल्टी सुटआउटबाट ४–३ गोलले सुनगाभा बिजयी भएको हो । खेलको म्यान अफ द म्याच सुनगाभाका गोलकिप्पर एलेश आङ्वो भए ।
दोस्रो खेलमा निदि सेकेन्डरी स्कुल बिजयी भएको छ । निहारिका बोर्डिङ स्कुलसंगको खेलमा ५–२ को गोल अन्तरमा निदि बिजयी बनेको हो । निदिका पुजन दाहाल २ गोल गर्दै म्यान अफ द म्याच भए ।
आजको तेस्रो खेल बाल्मीकि फाउण्डेशन र मेची इङ्गिलस बोर्डिङ स्कुलबिच भएकोमा ३–० गोलले बाल्मीकि बिजयी बन्यो । दुई गोल गरेका बाल्मीकिका दर्पण गुरुङ म्यान अफ द म्याच घोषित भए ।
भोली दुई खेल हुनेछन् । जसमा पहिलो खेल ग्लोबल इङ्गिलस स्कुल र इष्ट होराइजनबीच तथा दोस्रो खेल लिटल फ्लावर्स र सूर्योदय स्कुलबिच हुने एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीका प्रिन्सिपल अनुप शर्माले जानकारी दिएका छन् । फागुन ६ गते फाइनल खेल हुने प्रतियोगितामा १६ वटा विद्यालयको सहभागिता रहेको छ ।