झापा,फागुन ९ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा हिंसाको बीउ रोपिने खतरा बढेको छ ।

केबुलकार विरोधीसंगै केबुलकार निर्माण पक्षधरसमेत अराजक बनेपछि हिंसा चर्किने देखिएको हो । दोस्रो पटक पाथीभरा क्षेत्रमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच बिहीवार झडप भएको थियो ।
ताप्लेजुङको केबलकार निर्माणस्थलमा सुरक्षाकर्मीहरुले संयमता अपनाउँदा बिहीवार ठूलो क्षति हुन पाएन । सामाजिक संजालमा सार्वजनिक गरिएका भिडियोमा समेत आन्दोलनकारीहरु सुरक्षाकर्मीमाथि खनिएको देखिएको छ । घाइते सुरक्षाकर्मीहरु नै बढी भएका छन् ।
आन्दोलनकारीहरुले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिनको लागि नेपाल प्रहरीका तर्फबाट २ सेल र सशस्त्र प्रहरीबाट ४ सेल गरी जम्मा ६ सेल अश्रुग्यास प्रहार भएको थियो । ढुंगामुढा प्रहारबाट ११ प्रहरी घाइते भए । कोणसभानजिक रोकिरहेको पत्रकार तथा मानवअधिकारवादी चढेर आएको मे१ज २५७९ नं को गाडीको सबै सिसाहरू ढुंगामुढाबाट तोडफोड भई क्षति भएको छ ।
त्यस्तै आन्दोलनकारीहरुले घाइते लिन गएको मे१ज२५७९ नं.को बोलेरोमा तोडफोड गरी क्षति पुर्याउनुका साथै चालक राजकुमार पौडेललाई कुटपिट गरेका छन् । आन्दोलनकै कारण फुङलिङ नपा–१० काफ्लेपाटीस्थित केबलकार निर्माण स्थलमा रहेको हुन्डाई कम्पनीको वान टेस्ट स्काईभेटर सशस्त्र प्रहरीको वेस क्याम्पमा ल्याई सुरक्षित राखिएको छ । बिहीवारको झडपमा नेपाल प्रहरीतर्फ १ वटा ढाल फुटेको, १ वटा ढाल चर्की क्षति भएको र सशस्त्र प्रहरीतर्फ ५ वटा ढाल फुटी क्षति भएको जनाइएको छ । नो केबलकार समूहको पदयात्राको लागि गएका झापा दमक २ बस्ने बर्ष १९ का अनुराग आङदम्बे झडपको क्रममा आफै लडेर सामान्य घाइते भएका थिए । जिल्ला अस्पताल ताप्लेजुङमा उपचारपश्चात् उनी डिस्चार्ज भएका छन् ।
यसरी आन्दोलनकारीहरु आक्रोशित भइरहँदा केबुलकार निर्माण पक्षधरहरु पनि अराजक बनेका छन् । शुक्रवार दिउँसो फुङलिङ .–१० काफ्लेपाटी बजारमा यातायात खुलेको भनी काफ्लेपाटीबाट सदरमुकामतर्फ आउन लागेको ना २ च ३९१९ नम्बरको बोलेरो गाडीमा चढ्न लागेको दर्शनार्थी यात्रु पाँचथर हिलिहाङ गा.पा.–५ स्थायी वतन भएका बर्ष ६८ का सुरेन्द्र सुहाङलाई केबलकार निर्माण पक्षधरको सुनसरी इनरुवा न.पा.८ बस्ने बर्ष २० का रोशन कार्कीले एक्कासि कुटपिट गरेका छन् ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले कुटपिट गर्ने कार्कीलाई नियन्त्रणमा लिई पर्यटक सहायता प्रहरी विट काफ्लेपाटीमा राखेका छन् ।