झापा, फागुन १० । झापाको मेचीनगरमा भएको आगलागीबाट एकजना गंभीर घाइते भएका छन् ।

गएराति ९ः१० बजे मेचीनगर नगरपालिका वडा नम्वर ४ आमडाँगी बस्ने ५१ वर्षीय बिरेन्द्रराज राईको घरको पूजा कोठामा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो । उक्त आगो निभाउने क्रममा घरधनी बिरेन्द्रराज राई घाइते भएका हुन् । दुवै हात, दुवै खुट्टा र अनुहारमा आगोले पोलेर घाइते भएका राईलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । प्रहरी चौकी बाहुनडाँगीबाट ३ जनाको प्रहरी टोली खटिएर राति ९ः२५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट कोठाभित्र रहेको लत्ताकपडा आंशिक रुपमा जलेर क्षति भएको जनाइएको छ ।
उता गएराति ११ बजे ओखलढुंगाको सिद्धिचरण –४ चारखु बस्ने भिमबहादुर खत्रीको ढुंगा माटोको गारो,टिनको छानो भएको २ तले घरमा आगलागी भएको छ । उक्त घरको भुइँतलामा भएको किराना तथा खाजा पसलमा राखेको ग्यास सिलिण्डर पड्किन गई आगालागी हुँदा भुइँतलाको गारो र ढोका भत्किन गई घरमा पूर्णरुपमा क्षति भएको छ । भुइँतलामा भएको किराना तथा खाजा पसलभित्र राखेको किराना सामान र नगद रु.१ लाख पूर्णरुपमा जल्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै हिजो बिहान ५ः३० बजे संखुवासभा भोटखोला– ४ सेम्बुङ बस्ने दावा जुमिक भोटेको काठले बनेको, टिनको छानो भएको २ तले भुइँ टाँडे घरमा चुलोबाट अचानक आगो सल्किएर आगलागी भएको छ । उक्त आगलागीबाट घरमा आंशिक रुपमा क्षति भएको छ । घरभित्र रहेको काठपात, लत्ताकपडा,अन्नपात गरी अन्दाजी १ लाख २० हजार बराबरको क्षति भएको जनाइएको छ ।
त्यस्तै हिजो बिहान ११ बजे ओखलढुंगा चिसंखुगढी –१ कुईभीर बस्ने बिरबहादुर अधिकारीको ढुंगा माटोको गारो ,टिनको छानो भएको ३ तले घरमा अचानक बिद्युत सर्ट भई आगलागी भएको छ । आगलागीबाट घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडाबर्तन, नगद २ लाख ५० हजार , ५ तोलाको सुनको गरगहना र १० तोलाको चाँदीको गरगहना जल्दा अन्दाजी २२ लाख ५० हजार बराबरको क्षति भएको छ ।