झिलझिले, फागुन १० । नेपाली कांग्रेस कोशी प्रदेशले श्रमिक तथा ट्रेड युनियन विभागको छात्रवृत्ति योजनाका लागि विद्यार्थी छनोट सुरु गरेको छ ।

प्रजातन्त्र दिवसको अवसर पारेर झापाको निर्वाचन क्षेत्र नम्बर ४ का २५ सामुदायिक विद्यालयका ५० जना विद्यार्थीमध्येबाट लिखित तथा मौखिक परीक्षा गराई उत्कृष्ट ६ विद्यालयका विद्यार्थी छनोट गरिएको श्रमिक तथा ट्रेड युनियन विभागका संयोजक उत्तम चौलागाईँले बताए । विद्यार्थीलाई कक्षा १० को अंग्रेजी पाठ्यपुस्तकभित्रका शव्दको हिज्जे लेख्न र उच्चारण गर्न लगाइएको थियो । यो कार्यक्रम शरणामतिको जनता माध्यमिक विद्यालयमा भएको थियो ।

प्रतियोगितामा कन्काई मावि प्रथम, शिवसताक्षीको लक्ष्मीनारायण मावि द्वितीय र शिवसताक्षीकै झिलझिले मावि तृतीय भएको आयोजक श्रमिक तथा ट्रेड युनियन विभागले जनाएको छ ।

यस्तै फागुन १७ गते राष्ट्रिय रमणीय आदर्श माविमा क्षेत्र नम्बर ४ का सामुदायिक विद्यालयका विद्यार्थीहरुबिच निबन्ध प्रतियोगिता गराइने छ । यो प्रतियोगिताबाट छनोट भएका तीनजना विद्यार्थीलाई पार्टीले तीन वर्षे कृषि भेटेरेनरी विषय अध्ययन गरेमा ५० प्रतिशत र अन्य ऐच्छिक विषय अध्ययन गरेमा २५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने नेपाली कांग्रेसले योजना बनाएको छ ।
झापा ४ का २८ वटै वडाबाट कम्तिमा एक–एकजना विद्यार्थीलाई प्रतिवर्ष जेटिए, भेटेरेनरी र अमिन जस्ता १८ महिने डिप्लोमा कोर्स गराइने नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले जनाएको छ । छनोटमा परेका विद्यार्थीलाई कम्तिमा ५० प्रति छात्रवृत्ति व्यवस्था गराइने संयोजक चौलागाईँले बताए ।

उनले भने,‘ श्रमिक तथा ट्रेड युनियन विभागको सिफारिसमा पार्टीले प्रदान गरेको छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले आफ्नो वडामा व्यावसायिक रूपमा काम गर्न पाउनेछन् ।’ वैदेशिक रोजगारमा जाने विद्यार्थीहरूका लागि पनि पार्टीले सहयोग गर्ने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्