झापा, फागुन ११ । मेची राजमार्गमा गरिएको चक्काजाम सहमतिपछि आज साँझ खुलेको छ ।

साँझ ६ बजे इलाम सूर्योदय –६ हर्कटेमा भएको चक्काजामको बिषयमा टिपर साहु र मृतकका आफन्तबिच ५ बुँदे सहमति भएको हो । मोटरसाइकल मर्मत गरिदिने, इन्सुरेन्सबाहेकको नगद रु ७ लाख दिने , किरिया खर्च उपलब्ध गराउने , पीडित पक्षले शव बुझी लाने , बीएण्डसी अस्पतालमा उपचारको खर्चमा २० प्रतिशत छुट गराइदिने र कानुनी प्रकृयामा सहयोग गरिदिने सहमति भएको हो ।
टिपरको ठक्करबाट बाबुछोराको मृत्यु भएपछि दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तहरुले मेची राजमार्ग अवरुद्ध पारेका थिए । दिउँसो १२.४५ बजेदेखि हर्कटेस्थित मेची राजमार्गमा उनीहरुले चक्काजाम गरेका थिए ।
दुई दिनअघि रोङ –३ हाँसपोखरीस्थित मेची राजमार्गमा को १ ख ६४६२ न. को टिपरले प्रदेश १–०३–००१ प १५८५ न. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल .चालक सूर्योदय– ६ खादीगाउँ बस्ने ४० वर्षीय दिर्घ राई र पछाडि सवार उनका बुबा ७० वर्षीय पवनकुमार राईको मृत्यु भएको थियो ।