विनोद सापकोटा,

झापा । झापाका चोक, बजार र गल्लीहरूमा यस पटक महिला श्रमिकहरूको योगदानको उत्सव मनाइयो ।

११५औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस तथा अखिल नेपाल महिला संघको ७३ औं स्थापना दिवसको अवसरमा झापाका १५ वटै पालिकामा विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाइएको हो ।

यस पटक झापाका १५ वटै पालिकामा ११५औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस तथा अखिल नेपाल महिला संघको ७३ औं स्थापना दिवसको भव्य रुपमा मनाउने जिल्ला कमिटीले परिपत्र गरेको थियो । जस अनुसार जिल्लाका १५ वटै पालिका र अधिकांश वडामा वडास्तरीय कार्यक्रम भएको अखिल नेपाल महिला संघले जनाएको छ ।

गएको फागुन १७ देखि सात दिनसम्म चलेको यो विशेष अभियानअन्तर्गत स्वास्थ्य शिविर, हाजिरी जवाफ, वक्तृत्वकला प्रतियोगिता, श्रमिक महिला सम्मान, माइन्युट तथा प्रस्ताव लेखन जस्ता कार्यक्रमहरू सञ्चालन गरिए । प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत बिरामीहरूलाई पोषणयुक्त खाना तथा फलफूल वितरण गरियो भने शिवसताक्षीको माईधारमा सरसफाई अभियानले समुदायलाई स्वस्थ र सफा बनाउने सन्देश प्रवाह गर्यो ।

शनिबार प्रादेशिक अस्पतालमा ८२ जना बिरामीलाई पोषणयुक्त खाद्य पदार्थ वितरण गरियो । आयोजकहरूले बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै “स्वास्थ्य नै सम्पत्ति हो” भन्ने सन्देश फैलाए । अखिल नेपाल महिला संघका नेतृहरुले अस्पतालको बेडमा उपचार गराइरहेका विरामीलाई भने,‘ तपाईँहरुलाई केही भएको छैन । आत्मवल दह्रो बनाएर उपचार गर्नुहोस् । चाँडै निको भएर घर फर्कनुहुनेछ ।’

मेचीनगर २ मा विभिन्न क्षेत्रमा योगदान पुर्याएका पाँच महिला श्रमिकलाई हटकेस र दोसल्ला ओढाएर सम्मान गरियो । सम्मानित महिलाहरूको आँखामा गर्वको चमक थियो । जुन उनीहरूका मेहनती हातहरूले सिर्जना गरेको इतिहासको झल्को सम्मानले दिएको देखिन्थ्यो ।

‘नारीलाई समान अधिकार कागजमा मात्र होइन । व्यवहारमा पनि लागू हुनुपर्छ ।’ यो भनाइ कार्यक्रमका अतिथिहरूको मात्र होइन । उपस्थित सबैको भावनाको प्रतिनिधित्व गथ्र्यो । प्रमुख अतिथि अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, केन्द्रीय सदस्यहरू मिना उप्रेती र विष्णु प्रसाई, कोशी प्रदेश कमिटी सदस्यहरु बसन्त बानिया, घनश्याम अधिकारी र शिवराज भण्डारी, महिला संघकी कोशी प्रदेश सचिव हेमकला कट्टेललगायतले नारी सशक्तीकरणको पक्षमा दृढ संकल्प व्यक्त गरे । उनीहरुले संसारका महिला एक हुन पनि आग्रह गरे ।

कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष लिला दाहालले गरिन् भने सञ्चालन झापा सचिव कल्पना चौलागाईंले गरिन् । ११५ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस तथा अखिल नेपाल महिला संघको ७३ औं स्थापना दिवसको उत्सव मात्र नभई अभियान थियो । ‘यो एउटा यस्तो अभियान हो । जसले महिला श्रमिकहरूको सम्मान, अधिकार र समानताको यात्रालाई अझ मजबुत बनाउने प्रयास गरिरहेको छ,’ संघकी झापा सचिव कल्पनाले भनिन् । उनका अनुसार यसपटकको अन्तर्राष्ट्रिय महिला दिवस अर्थात उत्सवले एउटा सन्देश दिएको छ । उनले भनिन्, ‘महिला श्रमिकहरू समाजको मेरुदण्ड हुन् र उनीहरूको योगदानको कदर गर्नु हामी सबैको कर्तव्य हो ।’

यता माईधारमा ११५ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा शिवसताक्षी–१० स्थित कन्काई मुक्ति आर्यघाट परिसर सरसफाई गरिएको छ । नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ १० नम्बर वडा कमिटीको आयोजनामा सम्पन्न भएको यो कार्यक्रम समाजमा सरसफाईप्रति जागरुकता फैलाउने तथा महिलाको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यले गरिएको हो ।

कमिटीकी अध्यक्ष संगीता कोइराला सुवेदीका अनुसार मानिसको बढी जमघट हुने क्षेत्रमा सफाई आवश्यक भएकाले आर्यघाट परिसरलाई सफा गरिएको हो । कार्यक्रममार्फत समाजमा फोहोर व्यवस्थापनमा महिलाको महत्वपूर्ण भूमिका रहेको सन्देश प्रवाह गर्न खोजिएको उनले बताइन् ।

कार्यक्रममा ३५ महिला र १६ पुरुष गरी ५१ जना सहभागी भएका थिए । सरसफाईपछि आयोजित कोणसभामा नेकपा एमाले जिल्ला परिषद् झापाका सदस्य समधोज सुतार कार्की, १० नम्बर वडा कमिटी अध्यक्ष डम्बरकुमार तिम्सिना, पार्टीका नगर सदस्य निरकुमार बस्नेत, तथा दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाका वरिष्ठ उपाध्यक्ष डम्बरकुमार तिम्सिनाले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा भएको यो पहलले समाजलाई सकारात्मक सन्देश दिने बताए ।
अखिल नेपाल महिला संघ १० नम्बर वडा कमिटीकी अध्यक्ष संगीता कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव विनिता गौतम सुवेदीले गरेकी थिइन् । महिला सहभागिता, स्वच्छ वातावरण प्रवद्र्धन र सामाजिक उत्तरदायित्वलाई जोड दिने यो अभियानले भविष्यमा पनि निरन्तरता पाउने आयोजकले बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्