विनोद सापकोटा,
झापा । नेपाली कांग्रेसका एकजना पुराना कार्यकर्ता पशुपति दाहालले पार्टी परित्याग गरेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका–११, झिलझिले निवासी दाहालले आफ्नो फेसबुकमार्फत पार्टी छोडेको घोषणा गरेका हुन्।
एक दिनअघि आफ्नै फेसबुक वालमा उनले झापा क्षेत्र नम्बर ४ को निर्वाचित क्षेत्रीय सदस्यका रूपमा कार्यरत रहेको जानकारी गराउँदै अब कुनै पनि तहको साधारण सदस्यसमेत नरहने उल्लेख गरेका छन्। पारिवारिक कारण देखाउँदै उनले वडा, नगर, क्षेत्र र जिल्ला समितिलाई आफ्नो निर्णयबारे अवगत गराएको बताएका छन्।
दाहालले पार्टी परित्याग गरेपनि अब कुनै नयाँ राजनीतिक दलमा आवद्ध हुने वा स्वतन्त्र रहने भन्नेबारे भने खुलाएका छैनन्। पार्टीभित्र उनले लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।
२०३९ सालमा पार्टीको क्रियाशील सदस्य प्राप्त गरेका दाहालले नेताहरूको दोषारोपणका कारण आफूजस्ता भोटरहरू अन्योलमा परेको बताए। पछिल्लो समय कृष्णप्रसाद सिटौला, डाक्टर शेखर कोइरालालगायतका नेता कार्यकर्ताको एकले अर्कालाई दोषारोपण गर्ने प्रवृतिप्रति दाहालले गम्भीर आपत्ति जनाए।
स्रोतका अनुसार दाहाल २०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्य पदमा उम्मेदवार बन्न चाहन्थे। तर, नेपाली कांग्रेसले टिकट नदिएपछि उनी असन्तुष्ट बनेका थिए। पार्टीले उनलाई विभिन्न वर्गीय संगठनमा जिम्मेवारी दिएको भए पनि उनी मुख्य भूमिकामा आउन चाहन्थे।
कुनै समय कांग्रेस नेता नारायण बजगाईंका विश्वास पात्रका रूपमा रहेका दाहाल पछिल्लो समय पार्टी नेतृत्वसँग असन्तुष्ट हुँदै आएका थिए। विशेष गरी सताक्षीधाम निर्वाचनका सन्दर्भमा उनले गम्भीर असन्तुष्टि जनाएका थिए। सताक्षीधाममा हालै सम्पन्न अध्यक्ष पदका लागि भएको निर्वाचनमा पार्टी कार्यकर्ता र नेताहरूबीच पानी बाराबारको स्थिति आएको उनले आरोप लगाए।
‘हामी भोटर हौँ। पार्टीमा नरहे पनि रहे पनि जम्माजम्मी मतदानका बेला मात्र गणनामा आउने हामी कहिले पनि शक्तिमा पुग्ने चान्स नेपाली कांग्रेसमा आउने रहेनछ,’ उनले गुनासो पोग्दै भने ‘अरु कुनै राजनीतिक पार्टीमा राम्रो अवसर र पद प्राप्त भए राजनीति गर्ने मान्छे भएकै कारणले पनि खाली बसिन्न ।’नेपाल प्रहरीबाट अवकाश पाएपछि दाहाल नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका थिए।
