झापा, चैत १ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको निर्वाचन कार्यालयमा तोडफोड गर्ने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)का सभापतिसहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

सार्वजनिक बिदाको दिन बन्द रहेको स्ववियु निर्वाचन कार्यालयमा पुगेर प्लाष्टिकको कुर्सी र सूचना पार्टी तोडफोड गरी निर्वाचन कार्यालयको ताला तोडेर भित्र प्रवेश गर्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
तोडफोडलगत्तै वडा प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालयबाट पुगेको संयुक्त टोलीले स्ववियु सभापति विराटनगर–१० का २८ वर्षीय जसवन्त पौडेल, स्ववियु सचिव विराटनगर–३ का २७ वर्षीय सनिम ठकुरी, स्ववियु सदस्यहरू विराटनगर–१२ का २८ वर्षीय प्रज्वल अधिकारी र २७ वर्षीय रोशनकुमार पासवान तथा क्याम्पसकै विद्यार्थीहरू विराटनगर–७ का २० वर्षीय नवीन तिवारी र १९ वर्षीय तिलक खड्कालाई पक्राउ गरेको हो।
डीएसपी जोशीका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। पक्राउ परेकाहरु नेपाल विद्यार्थी संघ आबद्धहरु हुन्। उनीहरु पार्टीको संस्थापन पक्षका हुन्। महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेविसंघमा विवाद छ। संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले क्याम्पसमा विरोध गर्दै आएको छ। इतर समूहले निर्वाचन समितिको कार्यालयमा ताला लगाएको छ।