
झापा, चैत ४ । अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफमार्फत नेपाललाई प्राप्त हुने पक्षाघात (स्ट्रोक) का बिरामीका लागि निःशुल्क औषधी आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पक्षाघातका बिरामीका लागि महँगो र दुर्लभ औषधी नेपाल आइपुगेको जानकारी दिए । डाइरेक्ट रिलिफले पहिलो चरणमा ८०० भाइल ‘अल्टिप्लेस रिकम्बिनेन्ट २० मिलिग्राम औषधी नेपाल पठाएको हो ।
उनले मन्त्रालयले मापदण्ड बनाएर औषधी वितरण गर्ने जानकारी दिँदै पहिलो चरणमा वीर अस्पताललगायतका सरकारी र दोस्रो प्राथमिकतामा निजी अस्पतालमा वितरण गरिने बताए । उनले एक हप्ताभित्रमा औषधी वितरण गरिने जानकारी दिँदै पक्षाघातका बिरामी मन्त्रालयमा डेलिकेसन आएकाले मन्त्रालयले अमेरिकी संस्थासँग माग गरेको बताए ।
औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान जोगिने उनको भनाइ छ । उनले नेपालमा सहजै उपलब्ध हुनसमेत गाह्रो हुने सो औषधीको एक मात्राको मूल्य नेपालमा झन्डै एक लाख ६० हजार पर्ने बताए । सरकारी अस्पतालमा उपचाररत बिरामीका लागि निःशुल्क औषधी उपलब्ध गराउन दुई महिनाअघि गत ४ माघमा स्वास्थ्य मन्त्रालय र डाइरेक्ट रिलिफबिच सम्झौता भएको थियो । सोही अनुसार अहिले औषधी आएको हो ।
नेपालका न्युरो फिजिसियनसहितका विज्ञले दिएको सुझाव अनुसार औषधी आएको भन्दै उपचारमा संलग्न चिकित्सक र उपचार विवरण अनुसार एक वर्षमा करिब आठ सय भायल भए पुग्ने देखिएकोले वर्षदिनलाई पुग्ने गरी पहिलो पटक औषधी आएको हो । डा. बुढाथोकीले पाँच वर्षसम्म निःशुल्क औषधी उपलब्ध हुने जानकारी दिए ।