झापा, चैत ४ । तीब्र गतिको हावाहुरीका कारण झापाको तीनवटा जंगलमा डढेलो लागेको छ ।

डढेलोका कारण ठूलो क्षेत्रफलको वनमा क्षति पुगेको छ । आज दिउँसो भद्रपुर ४ स्थित मायालु सामुदायिक वनमा लागेको आगलागीबाट करिव ५० विगाह वन क्षेत्रमा क्षति पुगेको छ । प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोली , भद्रपुर र बिर्तामोड नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
त्यस्तै दमक १० स्थित रमा सामुदायिक वनमा पनि डढेलो लागेको छ । तीब्र गतिको हावाहुरीका कारण आगो फैलिदै गई नजिकै रहेको घोपबहादुर धिमालको कटेरोसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसबाट अन्दाजी २५ हजार बराबरको क्षति भएको डीएसपी खगेन्द्र खड्काले बताए ।
त्यस्तै बुद्धशान्ति गाउँपालिका ६ स्थित ज्यामिरे सामुदायिक वनमा पनि आगलागी भएको छ । आज साँझ लागेको आगलागीबाट करिव २५ हेक्टर वनमा क्षति पुगेको वन समितिका अध्यक्ष खेमराज कुइकेलले जानकारी दिए ।