
झापा,चैत ९ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आगामी साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन गृहकार्य सुरु भएको जानकारी दिएको छ । विभागले आगामी २०८२ साउन १ गतेदेखि लागु गर्ने श्रमिकको पारिश्रमिक वृद्धिको काम सुरु गरेको जानकारी गराएको हो ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले अघिल्लो पटक वृद्धि गरिएको पारिश्रमिक अझै कतिपय प्रतिष्ठानमा कार्यान्वयन नभएको पाइएकाले त्यसको कार्यान्वयनका लागि सबै रोजगारदाता प्रतिष्ठानलाई जिम्मेवार बन्न आग्रह गरे ।
हाल श्रमिकको मासिक पारिश्रमिक १७ हजार तीन सय रुपियाँ तोकिएको छ । जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० रुपियाँ तोकिएको छ भने महँगी भत्ता छ हजार ४८० रुपियाँ छ । २०८० साउन १ गतेदेखि लागु भएको श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार तीन सय रुपियाँ कार्यान्वयन गरेको हो ।
आगामी वर्षदेखि लागु हुने नयाँ पारिश्रमिक अहिलेको महँगीलगायत सबै कुरालाई ध्यानमा राखेर निर्धारण गरिने महानिर्देशक भट्टराईले जानकारी दिए । महानिर्देशक भट्टराईले विभागबाट बेला बेलामा हुने आकस्मिक अनुगमनमा धेरै रोजगारदाता प्रतिष्ठानमा सुधार भएको पाइए पनि अझै केही प्रतिष्ठानमा कार्यरत श्रमिक न्यूनतम अधिकारबाट वञ्चित भएको पाइएको जानकारी दिए । उनले मर्यादित श्रमका लागि श्रमसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिको अनुमोदनका लागि कार्यायोजना बनाई प्रतिष्ठान र श्रमिकलाई अनौपचारीकरण गर्दै लैजानका लागि पूर्वतयारीका काम भएको पनि जानकारी दिए । दर्ता भएर सञ्चालन भएका रोजगारदाता प्रतिष्ठानलाई अब ऐनविपरीत सञ्चालन गर्न छुट नहुने र ती व्यवसायी प्रतिष्ठानलाई कानुन अनुसार कारबाही हुने उनको भनाइ छ ।