
झापा,चैत ९ । इलामको सूर्योदय नगरपालिका वडा नम्वर ६ कन्याममा गोठमा बाँधिएको एउटा गोरुको फिला काटेर लगिएको छ । गोरुको मासु काटेर कसले लगेको भन्ने हालसम्म पत्ता लागेको छैन ।
गोरुको एकपट्टि खुट्टाको फिला हड्डीसम्म खुर्किएर मासु निकालिएको अवस्थामा फेला परेको थियो । स्थानीय किसान राम राईले पालेको गोरुको फिला काटेर लगिएको पाइएको छ । उक्त गोरूको एकदमै क्रुरतापूर्वक जिउँदै अवस्थामा फिला काटिएको थियो ।
सो गोरुको यसअघि पनि फिला काटेर लगिएको थियो । घरेलु उपचारपछि निको हुँदै गएको थियो । लामो समयपछि गोरु बिस्तारै तंग्रिदै थियो । तर, फेरि उसैगरी गोरुको फिलाको मासु काटेर लगेको र गोरुधनी राई बिहान गोठमा जाँदा गोरु मरिसकेको अवस्थामा भेटिएको थियो ।
यसअघि पनि उनै किसानको एक हल गोरुको फिला काटेर लगिएको थियो । यसअघि पनि फिला काटेर लगेकै कारण गोरु मरिसकेको छ । उस्तै प्रकृतिको यो दोस्रो घटना हो ।
आफ्नो गोठमा बाँधिएको गोरुको फिला काट्ने क्रम नरोकिएपछि राईले स्थानीय जनप्रतिनिधि, प्रहरीलाई बोलाएर कारबाहीको लागि अनुरोध गरेका थिए । तर, कसले यस्तो विभत्स कार्य गरेको भन्नेबारे खुलेको छैन ।