झापा, चैत १३ । इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगो पाँच घण्टा बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन।

आगलागी भएको १० तले भवनमा फसेका ११ जनाको उद्धार गरिएको छ। प्लाजाको विभिन्न तलामा फसेका ८ पुरुष र ३ महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।

काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत तीन जनाको उद्धार गरिएको हो। प्लाजाको पाँचौं र छैटौं तलामा बिहान साढे ९ बजेबाट आगलागी भएको थियो। आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जनभन्दा बढी दमकल, नेपाली सेना र प्रहरीको टोली परिचालित रहेको छ। प्रयोग भएका दमकलहरु इटहरी ,दुहबी , रामधुनी , कोशी , बराहक्षेत्र , बिराटनगर , सुन्दरहरैचा , नेपाल प्रहरी , धरान र देबानगन्जका रहेका छन् ।

आगलागी भएको भवनमा होटल, सिनेमा हल, बैंक, सुपरमार्केट, कपडाका पसल, मोबाइल तथा इलेक्ट्रोनिक्सका ठूला पसलहरू सञ्चालनमा रहेका छन्। आगलागीको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्