झापा,चैत १४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको कडाइका कारण दुई सय मेट्रिक टनभन्दा बढी सामान भन्सारमा अड्किएको छ । विमानस्थल कार्यालयले झिटीगुन्टा र कमर्सियल सामानको जाँचपासमा कडाइ गर्न थालेपछि विमानस्थलको गोदाम नै भरिने गरी सामान थुप्रिएको हो ।
भन्सारले विदेशबाट आउने सामग्रीलाई दुई भागमा विभाजन गरेको हुन्छ– पहिलो, व्यावसायिक (कमर्सियल) मालवस्तु र दोस्रो, व्यक्तिगत मालवस्तु । विदेशबाट आउँदा व्यक्तिगत तथा घरायसी प्रयोजनका लागि ल्याइने निश्चित परिमाणका वस्तुलाई भन्सारले महसुल छुट दिने व्यवस्था गरेको छ । यस्तो सामानलाई झिटीगुन्टा भन्ने गरिन्छ ।
यसबाहेकका सामानलाई भने व्यावसायिक (कमर्सियल) मालवस्तु भनिन्छ । यसमा तोकिएको दरमा भन्सार तथा आयात निर्यातसबन्धी अन्य प्रक्रियागत व्यवस्थासमेत लागु हुन्छ ।
कार्गो तथा कुरियर सेवा प्रदान गर्ने कम्पनीमार्फत् व्यक्तिले पठाएको सामानलाई पनि झिटीगुन्टाकै सरह मानेर भन्सार छुट दिइँदै आएको थियो तर, सोही माध्यमबाट व्यावसायिक सामान ल्याउँदा भने भन्सार महसुल लिएरमात्रै जाँचपास गरिँदै आएको थियो ।
गत फागुन ११ गते बसेको भन्सार कार्यालयको व्यापार सहजीकरण सम्बन्धी बैठकले कार्गो तथा कुरियरमार्फत् आउने व्यावसायिक सामानहरू समेत व्यक्तिगत प्रयोजनको भनेर घोषणा गर्ने प्रवृत्ति देखिएको भन्दै यसमा कडाइ गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्टदेखि भन्सार कार्यालयहरूले जाँचपास कडाइ गर्न थालेपछि भन्सार विन्दुमा सामान थुप्रिएको हो ।

विमानस्थल भन्सार कार्यालयका एक अधिकारीका अनुसार अहिले त्यस्तो सामानले कार्यालयको गोदाम नै भरिइसकेको छ । उक्त भन्सार कार्यालयको गोदाममा मात्रै २०० मेट्रिक टनभन्दा बढी सामान जाँचपास हुन नसकेर रोकिएको ती अधिकारी बताउँछन् ।
भन्सारले उक्त निर्णय गरेको केही दिन अघिमात्रै सरकारले भन्सार विभागका महानिर्देशकदेखि विमानस्थल कार्यालयका प्रमुख भन्सार अधिकृतसम्मको सरुवा गरेको थियो । अहिले विभागको महानिर्देशकमा महेश भट्टराई छन् भने विमानस्थल भन्सार प्रमुखमा दिलीप गौतम सरुवा भएर आएका छन् । विभाग र कार्यालयमा नयाँ नेतृत्व आएपछि जाँचपासमा कडाइ हुन थालेको कार्गो तथा कुरियर व्यवसायी बताउँछन् ।

भन्सार विभागका महानिर्देशक भट्टराई झिटीगुन्टाको नाममा सरकारले दिएको राजस्व छुटलाई दुरुपयोग गर्दै व्यावसायिक सामान भित्र्याउने गरेको पाइएकाले यसलाई रोक्ने प्रयास गरिएको बताउँछन् । कार्गो तथा कुरियर व्यवसायीले भन्सार तिरेर सामान छुटाउन तयार नभएकाले केही सामान रोकिएको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्