दमक, चैत १४  ।  राजावादीहरु आन्दोलित भएपछि सत्तासिन नेकपा एमाले पनि  सडकमा उत्रिने भएको छ ।
 

सडकमा आफ्नो शक्ति देखाउँदै राजावादीहरुलाई जवाफ दिन एमालेले चैत ३० गते झापाको दमकमा जनसभा गर्ने भएको छ । जनसभामा १ लाख जनता सहभागी गराउने नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले दावी गरेका छन् । आज दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता राईले राजावादीहरुको टाउको उठाउन नदिन एमालेले बृहत जनसभाको तयारी गरेको बताए ।

जरा अभियानमार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउँदै प्राप्त उपलब्धी रक्षाका लागि सक्षम रहेको दावी गरे । उनले नेकपा एमाले र नेपाली कांग्रेस उपलब्धी रक्षाका लागि चुप लागेर नबस्ने बताए । पत्रकार सम्मेलनमा बोल्दै नेता राईले मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्वहरु सल्वलाएकाले जनतालाई सचेत गराउन आवश्यक रहेको बताए ।

जादुमयी नम्बर, राजावादी र प्रतिगामीहरु मुलुकको विकल्प हुन नसक्ने उनले दावी गरे । एमालेको मिसन ०८४ र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई कमजोर बनाउन प्रतिगामीहरुले अराजक गतिविधि बढाइएको उनको ठहर छ ।
नेकपा एमाले अहिले पार्टी सुदृढ एवम् बलियो आधार तयार गर्न परिचालन भइरहेको बेला अराजक तत्वहरुले मुलुकमा अवाञ्छित गतिविधिहरु गरेको राईले आरोप लगाए ।

बृहत जनसभामा २ हजार स्वयम्सेवक परिचालन गर्ने तयारी गरिएको छ । जनसभामा नेकपा (एमाले) का नेता, कार्यकर्ता र सदस्यहरु परिचालित हुने जानकारी दिए । जनसभा तयारीका लागि नेता राईको संयोजकत्वमा जनपरिचालन कमिटी बनाइएको छ ।

प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पार्टीका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्