झापा,चैत १५ । विद्युत् प्राधिकरणले भारतबाट थप ४ घण्टा बिजुली आयात गर्न पाउने भएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले शुक्रबारदेखि १६ घण्टासम्म आयात गर्न पाउने भएको हो ।
प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपाली पक्षको आग्रहपछि भारत बिजुली आयातको समय थप्न सहमत भएको जानकारी दिए । ‘पहिले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म ल्याउन पाइन्थ्यो, अब बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म बिजुली ल्याउन पाइने भएको हो,’ उनले भने, ‘समयसँगै आयात गर्न पाइने बिजुलीको परिमाण पनि बढेको छ ।’
भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुरबाट ६ सय र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिएको छ । प्राधिकरणले हिउँदमा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गर्दै आएको छ । गत मंसिरमा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले चैत २ सम्म दिनको २० घण्टा र चैत ३ देखि आगामी असार १६ सम्म सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति दिएको थियो । चैत ३ यता प्राधिकरणले दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको छ ।

इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत नेपालले बिजुली खरिद गर्दै आएको छ । यसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । आईएक्सबाट हालसम्म दिउँसो साढे ५ सय मेगावाटसम्म आयात हुँदै आएको छ । नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) बाट पनि नेपालले बिजुली आयात गर्दै आएको छ  । पीईसीमार्फत ३५० मेगावाट आयात गर्न पाइने भए पनि नेपालले २ सय मेगावाट मात्र ल्याउने गरेको छ ।

‘पीईसीबाट ३५० मेगावाट लिन पाउने भए पनि भारतले दिइरहेको छैन,’ शाक्यले भने, ‘भारतले आवश्यक नहुँदा मात्रै हामीलाई दिइरहेको छ ।’ राति पनि बिजुली आयात गर्न पाउने व्यवस्था भएसँगै शुक्रबारदेखि विराटनगर र भैरहवा औद्योगिक करिडोरको लोडसेडिङ बन्द हुने उनले दाबी गरे । ‘उच्च माग भएको बेला (पिक आवर) बाहेक अन्य समयमा अब औद्योगिक क्षेत्रमा लोडसेडिङ हुँदैन,’ उनले भने ।
भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) सँग थप २३० मेगावाट बिजुली ल्याउन प्रक्रिया अघि बढाएको समेत उनले जानकारी दिए । ‘गत असोजमा २३० मेगावाट बिजुली ल्याउन सम्झौता भएको रहेछ, तर फलोअप नगर्दा भारतले उक्त बिजुली अरूलाई बेचिसकेको रहेछ, त्यो रद्द भयो,’ उनले भने, ‘एनभीभीएनसँग बोलपत्र मागेका छौं । कति रुपैयाँ पर्छ हेर्न जरुरी छ ।’ प्रक्रियामा रहेका बिजुलीसमेत आयात गर्न सकिए औद्योगिक क्षेत्रको लोडसेडिङ २-३ घण्टामा सीमित हुने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्