झापा, चैत २८ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो आठ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आव २०८१-८२ को आठ महिनाको तथ्याङ्क अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाहमा ९.४ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई सात अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रुपियाँ रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख १७ हजार ४०३ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ८५ हजार ३५२ र एक लाख ८२ हजार ७८३ थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्