झापा , चैत ३० । नेकपा एमालेको जनजागरण सभाका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली दमक आएका बेला राष्ट्रिय स्वतन्त्र पार्टीले झापामा सांकेतिकरुपमा कालो झन्डा प्रदर्शन गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको शिवसताक्षी नगर समितिको प्रथम नगर अधिवेशनका सहभागीहरुले आफ्नो कार्यक्रमस्थलमा सांकेतिकरुपमा कालो झन्डा प्रदर्शन गरी प्रधानमन्त्री ओली र सरकारविरुद्ध चर्का नारावाजी गरेका छन्। सहभागीहरुले ‘तानाशाह चाहिदैन दमन गर्न पाइदैन , न्यायालय निष्पक्ष होस् , प्रहरी प्रशासनमा राजनीति आदेश बन्द गर , ओली गुण्डाराज चल्दैन , विधिको शासन कायम गर , जनता अब जाग्नेछन् निरंकुश भ्रष्ट भाग्नेछन् ’ जस्ता नारा लगाएका हुन् ।

रास्वपा शिवसताक्षी नगर सभापति तुलसी खनालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सचेतक निशा डाँगी , प्रदेशका कार्यवाहक सभापति सरिन तामाङ, प्रदेश महामन्त्री लालविक्रम थापा , कोशी– काठमाडौं सम्पर्क समिति सभापति राजन दाहाल , झापाका सचिव शम्भु सुस्केरा , सहसचिव भीम कुँवर , कोषाध्यक्ष पुष्प ढकाललगायत क्षेत्र र पालिकाका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

आफूहरुले यसअघि नै शिवसताक्षी नगरपालिकामा अधिवेशन तय गरिसकेकाले प्रधानमन्त्रीलाई विरोध गर्न आज दमक जान नपाएपछि आफ्नै कार्यक्रममा सांकेतिकरुपमा विरोध जनाइएको कार्यवाहक सभापति पाठकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्