झापा , चैत ३१ । भोजपुरको भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर जाँदै गरेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर वडा नं –३ सेतीबगरमा गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए। ती दुवैको घटनास्थलमै मृत्यु भएको हो ।
राति १०.३० बजे मध्यपहाडी लोकमार्गमा बोखिमबाट गोबर मल लोड गरी छिनामखुतर्फ जाँदै गरेको ट्रयाक्टरको अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक सुनसरी धरान ५ बस्ने ३२ वर्षीय बिशाल बोहोरा र सहचालक संखुवासभा सभापोखरी–३ बस्ने ४० वर्षीय दिलबहादुर श्रेष्ठ घाइते भएका छन् । दुबै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल भोजपुर पठाइएको छ । त्यस्तै मृतकहरुको शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाइएको प्रहरीले जनाएको छ ।

उता गएराति ११.४० बजे ओखलढुङगा मानेभञ्जयाङ –६ हिलेपानीस्थित सिद्धिचरण लोकमार्गमा मिर्चैयाबाट सिमेन्ट लोड गरी सोलुखुम्बुतर्फ जाँदै गरेको ना ७ ख ५९८४ नम्बरको टिपर आफै अनियन्त्रित भई दुर्घटना भएको छ । सडकभन्दा करिब २० मिटर तल झरेर दुर्घटना भएको हो । टिपर चालक उदयपुर कटारी –४ बस्ने २३ वर्षीय अम्बर राउत र सहचालक सोही ठाउँ बस्ने १९ वर्षीय आशिष पुलामी मगर घाइते भएका छन् । दुबै घाइतेलाई उपचारको लागि जनसेवा पोलिक्लनिक घुर्मी उदयपुरतर्फ पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्