लक्ष्मी उप्रेती,
मेचीनगर । कोशी प्रदेश सरकारले नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा नाकामा पर्यटकीय सवारी साधनमा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ ।

आइतबार काँकरभिट्टा नाकाबाट कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले अभियानको शुभारम्भ गरे । भारतीय नम्बर प्लेट डब्लु. बि. ७४ ए ०६६३४ को सवारी साधनमा स्टिकर टासेर शुभारम्भ गरेका हुन् । उनले सो सवारी साधनमा सवार भारतीय पर्यटकहरुलाई रुद्राक्षको माला र खादा पहिर्याएर स्वागत समेत गरे ।
यसअघि सीमावर्ती रानी जोगबनी नाकाबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अभियानको शुभारम्भ गरेका थिए । आगामी २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकलाई सहज र सरल यात्रा अनुभव प्रदान गर्न यो अभियान सुरु गरेको जनाएको छ ।
नाकामा सुरक्षा जाँच स्टिकर टाँसिसकेपछि नफर्कुञ्जेल र कानुन विपरितका काम नगरेसम्म बाटोमा प्रहरीले रोक्न नपाउने प्रदेश सरकारले व्यवस्था गरेको छ । काँकरभिट्टाबाटै रोड पर्मिट पनि प्राप्त हुने भएपछि यसअघि भारतीय पर्यटकले वेहोर्दै आएको झन्झटबाट मुक्त भएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स नाट्टा कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठले बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले भारतीय पर्यटक बोकेको सवारीले झेल्दै आएको समस्या सुरक्षा जाँच स्टिकरले समाधान गर्ने बताए । भारतबाट आउने पर्यटकलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि अभियानलाई कोशी प्रदेशभरि लागू गर्न लागिएको हो । स्टिकर टाँसेका सवारीलाई नाकामा एकपटक जाँच गरेपछि अन्य स्थानमा प्रहरीले जाँच गर्न नपाउने व्यवस्था गरिएको छ ।