झापा , चैत ३१ । सरकारले दमन गर्ने प्रयास गरिरहँदा आन्दोलनका लागि झापामा राजावादीहरु संगठित हुँदै गएका छन् ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिलाई उनीहरुले झापामा विस्तार गर्न लागेका हुन् । आज दिउँसो बिर्तामोड ५ स्थित द मम फ्याक्ट्री होटलको सभाहलमा अधिवक्ता एवम् राजसंस्था पुनर्स्थापनाका संयुक्त जनआन्दोलन समितिक प्रवक्ता स्वागत नेपालको उपस्थितिमा झापाका राजावादीहरु भेला भएका थिए ।
भेलाले राजसंस्था पुनर्स्थापनाको लागि नवराज सुबेदीको संयोजकत्वमा रहेको केन्द्रीय समितिलाई झापामा विस्तार गर्न पूर्वमन्त्री टेकनारायण राजवंशीको संयोजकत्वमा भेला आयोजक कमिटी गठन गरेको हो । जसको सदस्य सचिवमा चेतराज थापा रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रजापति कोइराला , जितलाल राजवंशी, हरिराज पाठक, दिलिप पाण्डे (सन्तोष), युवराज चुडाल, नवराज घिमिरे , मिलन प्रधान ,इन्दिरा रिजाल, नवराज भट्टराई ,देवीरमण भट्टराई , मनोज बोहोरा, लक्ष्मीप्रसाद ढकाल (माल्दाई), तुलसा थापा, लिला घिमिरे, कृष्ण अग्रवाल,बिक्रम आचार्य रहेका छन् ।
आयोजक समितिले आगामी शनिवार भेला राख्ने र सोही भेलाले संयुक्त जनआन्दोलन जिल्ला समिति गठन गर्ने जनाइएको छ । भेलाको स्थान र समय तय भइनसकेको जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता नेपालले राजसंस्था पुनर्स्थापनाको आन्दोलन शुरु नै नभएको बताउँदै अब शुरु हुने आन्दोलन सशक्त हुने चेतावनी दिए ।