झापा, बैशाख ३ । बिर्ता युथ स्काउट क्रयू बिर्तामोडको आयोजनामा दुई दिने आवासीय स्काउट कार्यक्रम हल्दिवारीमा सम्पन्न भएको छ ।

नव वर्ष २०८२ को अवसरमा चिल्ड्रेन गार्डेन अंग्रेजी स्कुल हल्दिबारी–३ मा सो कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा अर्जुनधारा नगरपालिकाबाट एमएस एकाडेमी, अर्जुनधारा माध्यमिक विद्यालय, बिर्तामोड नगरपालिकाबाट इडेन गार्डेन, मनकामना अंग्रेजी स्कुल, भद्रपुर नगरपालिकाबाट मुनाल एकाडेमी, ज्ञान सरोवर अंग्रेजी स्कुल र हल्दिबारी गाउँपालिकाबाट सिग्मा र चिल्ड्रेन गार्डेन अंग्रेजी स्कुल गरी ८ वटा विद्यालयका करिव १२० विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
चिल्ड्रेन गार्डेन अंग्रेजी स्कुलका प्रिन्सिपल दुर्गामणि गौतमको अध्यक्षता तथा हल्दिबारी गाउँपालिका वडा न.४ का वडाध्यक्ष सन्तकुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमका साथै मध्यराति १२ बजे क्याम फायरसहित २०८१ लाई विदाई र २०८२ लाई स्वागत गरिएको थियो ।
बैशाख १ गते पाथिभरा सिंहकाली देवीको दर्शन गरी जलथलको बडावारी ,डढुवासम्म शान्ति प्रभातफेरी निकालिएको थियो । प्रमुख अतिथि तथा विशिष्ट अतिथिले शुभकामना मन्तव्य राखेको कार्यक्रममा राष्ट्रिय सुशासन श्रोत विकास तथा वित्त आयुक्त अरुण बस्नेत, स्काउटर चन्द्रशेखर मैनाली, प्रदेश परिषद सदस्य तथा सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठ, शैक्षिक पद्धति आयुक्त(महिला विभाग)कोशी प्रदेश सिवानी देवान, चिल्ड्रेन गार्डेन अंग्रेजी स्कुलका अध्यक्ष सुदिप पोखरेल , शिक्षक अभिभावक संघकी अध्यक्ष प्रतिमा भुजेल, मनकामना स्कुल विर्तामोडकी वन्दना अधिकारी, मुनाल एकाडेमी भद्रपुरका निशान गिरी, ज्ञानज्योति स्कुल गौरादहकी सुष्मिता भुजेलको उपस्थिति रहेको थियो ।
जलथल प्रहरी चौकीका इन्चार्ज कृष्णप्रसाद दुलालले सहजीकरण गरेको उक्त कार्यक्रम नेपाल स्काउटका रेन्जर स्मारिका तिवारी र जेनी चन्दले संचालन गरेका थिए ।