झापा,बैशाख ३ । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

आज दिउँसो १.३० बजे ताप्लेजुङ फक्ताङलुङ –५ याङसिला चोकमा लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे १ च ५१९३ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा बोलेरो चालक पाँचथर फिदिम– ३ बस्ने २५ सरोज श्रेष्ठको मृत्यु भएको हो ।
त्यस्तै सहचालक सोही ठाउँ बस्ने सौजन श्रेष्ठ घाइते भएका छन् । घाइते दुवैलाई आधारभूत स्वास्थ्य चौकी तापेथोक ताप्लेजुङमा ल्याइ डाक्टरले चेकजाँच गर्दा बोलेरो चालक सरोज श्रेष्ठको मृत्यु भइसकेको थियो । गंभीर अबस्थाका सहचालक सौजन श्रेष्ठलाई थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ ।
उता आज बिहान उदयपुर त्रियुगा नगरपालिका –९ गैरुनस्थित मदन भण्डारी राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालक गंभीर घाइते भएका छन् । उत्तरबाट मेनरोडतर्फ आउँदै गरेको स७प ३०७ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र१–०४–००१च०४९२ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक त्रियुगा ९ रातमाटे बस्ने शिक्षक ५४ वर्षीय प्रल्हाद खतिवडा घाइते भएका हुन् ।
जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपश्चात् थप उपचारको लागि उनलाई विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको छ । बोलेरो चालक मोरङ मिक्लाजुङ गाउँपालिका –६ टाँडी बस्ने २९ वर्षीय भुवनसिंह बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।