झापा, बैशाख ४ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् ।

पार्टीमा एक व्यक्ति एक पद लागू गर्नुपर्ने भन्दै उनले राजीनामा बुझाएकी हुन् । रास्वपा केन्द्रीय समितिको बिहीबारको बैठकमा सहमहामन्त्रीबाट श्रेष्ठले दिएको राजीनामाबारे छलफल हुने बताइएको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सहमहामन्त्री श्रेष्ठले राजीनामा दिएको जानकारी दिए । संसदीय मोर्चामा नै सक्रियताका साथ लाग्ने भनेर श्रेष्ठले राजीनामा दिएकी तर स्वीकृत भने भइननसकेको पार्टीले जनाएको छ । पछिल्लोपटक सभापति रवि लामिछानेले पार्टी पुनर्संरचना गर्ने भन्दै त्यसका लागि नेताहरूलाई तयार रहन भनेका थिए । सोही बेलादेखि श्रेष्ठले आफू पदबाट राजीनामा दिन र कानुन निर्माणमा क्रियाशील हुने बताउँदै आएकी थिइन् ।
श्रेष्ठले सभापति लामिछानेलाई १५ दिनअघि नै राजीनामा बुझाएकी थिइन् । तर, लामिछाने सहकारी ठगीमा उच्च अदालतको आदेशबाट पक्राउ परेपछि श्रेष्ठको राजीनामाबारे थप कारबाही भएको थिएन । रास्वपामा कबिन्द्र बुर्लाकोटी कार्यवाहक महामन्त्री छन् भने सुमनासँगै विपिन आचार्य सहमहामन्त्री छन् ।