झापा,बैशाख ६ । सरकारले टेन्डरमार्फत माग गरेको रासायनिक मल कलकत्ता बन्दरगाहबाट समयमा नेपाल आइनपुग्दा नेपाली किसान भारतीय गुणस्तरहीन युरिया प्रयोग गर्न बाध्य भएका छन् ।


कृषि सामग्री कम्पनी लिमिटेड विराटनगर कार्यालयका प्रमुख नरेश सापकोटाका अनुसार नेपालको रासायनिक मल कलकत्ता आइपुगेको छ । उनका अनुसार अप्रिल १८ र १९ तारिखमा कलकत्ता आइपुग्ने र त्यहाँबाट नेपाल आएर सबै प्रक्रिया पूरा गरी बिक्री गर्न थप १५ दिन लाग्ने छ । सापकोटाका अनुसार २५ हजार मेट्रिक टन मल नेपाल आउन लागेको हो । जसमध्ये छ हजार पाँच सय मेट्रिक टन मल कोशी प्रदेशमा रहन्छ ।
साल्ट ट्रेडिङ कम्पनी लिमिटेड विराटनगर कार्यालयका प्रमुख राधेश्याम चौधरीका अनुसार साल्ट ट्रेडिङको मल नेपाल आइसकेको छ । साल्ट ट्रेडिङको ११ हजार बोरा युरिया शुव्रmबार साँझसम्ममा गोदाममा भण्डार हुने चौधरीले जानकारी दिए । सबै प्रक्रीया पु–याएर डिलरलाई दिन थप पाँच दिन लाग्ने चौधरीको भनाइ छ । अझ किसानले पाउन थप १० दिन जति लाग्छ तर साल्ट ट्रेडिङले दिएको युरिया किसानका लागि पर्याप्त भने हुँदैन ।

यता समयमा मल नेपाल नआउँदा बाली हुर्किसक्ने भएपछि किसानले ५० किलोको बोरालाई एक हजार चार सय रुपियाँ तिरेर खरिद गर्दै भारतीय युरिया प्रयोग गरिरहेका छन् । मोरङको कानेपोखरी–७ का मकै किसान सीताराम गेलालले भने, “नेपालको युरिया ५० किलोको एक बोरालाई ९४० रुपियाँ पर्छ । भारतीय युरिया मल त्यति नै परिमाण किन्दा एक हजार पाँच सय रुपियाँ प–यो । नेपालको युरिया प्रतिकट्ठा तीन किलो लाग्छ भने भारतको छ किलोले पनि राम्रो लाग्दैन ।

पछिल्लो एक दशकयता दक्षिणी मोरङमा गहुँभन्दा बढी बर्खे धान र मकैको खेती हुन थालेको छ । जसले गर्दा युरियाको माग ह्वात्तै बढेको छ । कृषि सामग्री कम्पनी लि. विराटनगरका कार्यालय प्रमुख नरेश सापकोटाका अनुसार आर्थिक वर्ष २०८०-८१ मा कृषि सामग्री लिले कोशी प्रदेशमा १३ हजार ३४२ मेट्रिक टन युरिया, आठ हजार ९२ मेट्रिक टन डिएपी र ८०१ मेट्रिक टन पोटास बिक्री गरेको थियो । चालु वर्ष फागुन मसान्तसम्ममा ११ हजार ५२३ मेट्रिक टन युरिया, ७५२ मेट्रिक टन डिएपी र ५९१ मेट्रिक टन पोटास बिक्री गरिसकेको छ । यो आव समाप्त हुन अझै तीन महिना बाँकी छ । उनले भने, “युरियाको माग दोब्बर बढेको छ । आठ महिनाको अवधिमा नै हामीले युरिया गत वर्षभन्दा १८१ मेट्रिक टन बढी बिक्री गरिसकेका छौँ ।

हामीसँग अहिले डिएपी प्रशस्त मौज्दात रहे पनि युरिया भने ‘बफर’ को समेत बिक्री गरेका छौँ । साल्ट ट्रेडिक कम्पनी लि., विराटनगरका प्रमुख राधेश्याम चौधरीका अनुसार कम्पनीले यो वर्ष ७७ हजार ४० बोरा डिएपी, ८५ हजार ९४५ बोरा युरिया र २२ हजार २५२ बोरा पोटास बिक्री गरिसकेको छ । कम्पनीले कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, तेह्रथुम र भोजपुरलाई रासायनिक मल बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्