झापा, बैशाख ६ । गृहजिल्ला ताप्लेजुङमा आन्दोलनकारीले घेरा हालेपछि नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराई शौचालयमा लुकेका छन् ।

पूर्व पर्यटनमन्त्रीसमेत रहेका सांसद भट्टराई शुक्रबार कञ्चनजंघा हिरक महोत्सवमा गएका थिए । आन्दोलनकारीले शौचालयमै घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल हालेर सांसद भट्टराईलाई सुरक्षा दिएको थियो। केहीबेरपछि प्रहरीको जनशक्ति थपिएर भीड तितरबितर पारेपछि भट्टराई बाहिर आए । उनलाई प्रहरीले हेलिकोप्टरसम्मै सुरक्षा दिनुपरेको थियो। शुक्रबार कञ्चनजंघा हिरक महोत्सवको उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेसहित नेता भट्टराई हेलिकोप्टरबाट ताप्लेजुङको लेलेप पुगेका थिए।

फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा महोत्सव भइरहेको छ। महोत्सवमा सहभागी भएर काठमाडौँ फर्किने बेला भट्टराईविरुद्ध नाराबाजी भएको थियो ।प्रत्यक्षदर्शी नेपाल पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार उद्घाटन कार्यक्रम सम्पन्न भएपछि मन्त्री पाण्डे हेलिकप्टर भएतिर गए। उनीसँगै रहेका सांसद योगेश भट्टराई भने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भवनमा रहेको शौचालयतिर लागे । जब भट्टराई सिंढी चढेर शौचालय उक्लिए, वरपर रहेका स्थानीयले उनीविरुद्ध नाराबाजी सुरु गरेका थिए।

भट्टराईमाथि आक्रमणसम्मकै प्रयास भएपछि प्रहरी र स्थानीयबीच ठेलाठेल भएको थियो। स्थानीयले भने आफूहरूमाथि कुटपिट भएको दाबी गरेका छन्। स्थानीय केदारजङ्ग ताप्मादेनले आफूहरूमाथि कुटपिट भएको बताए। तर प्रहरीले भने भीड तितरबितर पार्ने क्रममा ठेलाठेल भएको जनाएको छ।

पाथीभरा मुक्कुमलुङ केवलकारको बिषयलाई लिएर नो केबलकार समूहले भट्टराईलाई कालो झण्डा देखाउने, विरोध गर्ने कार्य विगतदेखि नै गर्दै आएका छन् । कोशी प्रदेशका सांसद राम रानामाथि भएको दुर्ब्यवहारको विषयमा प्रतिनिधिसभामा सांसद भट्टराईले असन्तुष्टि जनाएका थिए । त्यसपछि भट्टराईप्रति पहिचान पक्षधरले विरोध जनाउँदै आएका छन् ।

यसैबीच एमाले नेता भट्टराईले सो घटनाप्रति आफूलाई दुःख नलागेको बताएका छन् । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘कञ्चनजङ्घा हिमाल आरोहणको ७० वर्ष पुगेको अवसरमा ताप्लेजुङ जिल्लाको लेलेपमा हिजोदेखि शुरु भएको कञ्चनजङ्घा महोत्सव बैशाख ७ गते समापन हुनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री पाण्डेको प्रमुख आतिथ्यमा बिशेष गरी लिम्बु, राई, शेर्पा जातिको सांस्कृतिक झाँकी तथा आकर्षक नाच÷ गान सहित हिजो उद्घाटन कार्यक्रम भव्य रूपले सम्पन्न भयो ।

कार्यक्रम सकेर फर्कनेक्रममा २÷४ जनाले मेराबिरुद्ध नारा लगाएछन । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन । मलाई कुनै दुःख छैन । सवाल बिरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ ।
जसले जति जानेको छ वा जे गर्न लगाईएको छ त्यति नै गर्ने हो । मेरो आग्रह विवेकले काम गरौ । प्रायोजकहरूको हतियार नबनौ । सामाजिक एकता र सदभाव नबिगारौ ।
“जान्नेलाई श्रीखण्ड
नजान्नेलाई खुर्पाको बिंड”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्