झापा, बैशाख ६ । मेलमिलाप परिषदको आयोजनामा झापामा मेलमिलापको आबश्यकता र चुनौती बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मेलमिलाप परिषदका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति झापाका संयोजक विश्वनाथ बराल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाई, भद्रपुर नगर उपप्रमुख राधा कार्की, मेलमिलाप परिषदका सचिवालय प्रमुख अर्जुन कोईराला, झापा जिल्ला अदालतका न्यायाधीशहरु क्रमशः उमेशप्रसाद लुईटेल, प्रकाशकुमार अधिकारी, महेन्द्रप्रसाद पोखरेल, तेजबहादुर खड्का, नबीनकुमार जोशी, नगेन्द्रकेशरी पोखरेल, रामप्रसाद पौडेल, ऋृतबहादुर पुलामी मगर, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, झापा बार एकाईका अध्यक्ष र अन्य पदाधिकारी, झापा जिल्ला अदालतका श्रेस्तेदार किरणकुमार सिंह, जिल्ला प्रहरी कार्यालयका प्रमुख मिलन के.सी., झापा बारका बरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि रेग्मीले “हाम्रो समस्या हाम्रो समाधान” मेलमिलापको नारा भएको बताउँदै मेलमिलाप प्रकृयालाई अवलम्बन गरेमा जित–जित (win–win) को अबस्था भई समाजमा सामाजिक सम्बन्ध समेत पुनर्स्थापना हुने बताए । उनले अदालतबाट मेलमिलाप प्रक्रियालाई जोड दिन आबश्यक भएको धारणा राखे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक विश्वनाथ बराल, भद्रपुर नगर प्रमुख गणेश पोखरेल र बिर्तामोड नगर प्रमुख पबित्रा महतारा प्रसाई , अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेल, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र बार अध्यक्ष समेतले आफ्नो भनाई राखेका थिए ।
सहभागीहरूका तर्फबाट बरिष्ठ अधिवक्ता तथा मेलमिलापकर्ता टंकप्रसाद उप्रेतीले भौतिक पूर्वाधार सम्पन्न मेलमिलाप केन्द्र र दक्ष मेलमिलापकर्ता उत्पादन गर्न आबश्यक रहेको जिज्ञासा राखेका थिए । अदालतमा मेलमिलापको रणनीतिलाई सफल बनाउन मेलमिलापकर्ताहरूले आचरणको पालना गर्नुपर्ने, मेलमिलापकर्ताहरूलाई पर्याप्त परिवहन खर्च उपलब्ध गराउन र मेलमिलापकर्ताको लागि उपर्युक्त ड्रेस लागू गर्न कार्यविधि निर्माण हुन जरुरी रहेको बार ईकाई झापाका सहसचिव तथा झापा बार महिला समिति संयोजक, मेलमिलापकर्ता सानु कार्की बस्नेत “सिता” ले सुझाव दिएकी थिइन् ।
बार एकाई झापाको सभाहलमा आयोजित उक्त कार्यक्रमको संचालन मेलमिलाप परिषदका शाखा अधिकृत रमेश आचार्यले गरेका थिए भने स्वागत मन्तव्य मेलमिलाप परिषदका सचिवालय प्रमुख अर्जुन कोईरालाले गरेका थिए । उक्त कार्यक्रममा झापा जिल्लाका पालिकाका न्यायिक समितिका संयोजक, सदस्य र झापा जिल्ला अदालतमा सूचीकृत मेलमिलापकर्ता समेत गरी जम्मा ७० जनाको सहभागिता रहेको थियो ।