झापा, बैशाख ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा सरकारले तोकेको निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने तयारी गरेपछि उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।


सरकारले यसअघि नै निषेधित क्षेत्र घोषणा गरेका सिंहदरबार, संसद् भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालयलगायतका क्षेत्रमा बाक्लो सुरक्षाकर्मीहरू तैनाथ गरिएको हो।

राप्रपाले आज गर्ने भनेको प्रदर्शनमा सरकारले नागरिकको विरोध गर्ने अधिकारलाई सङ्कुचित गरेको भन्दै निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने र गिरफ्तारी समेत दिने घोषणा गरेको थियो। गत चैत १५ गते भएको तीनकुनेको हिंसात्मक घटना नहोस् भनेर प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ। हिजो शनिवार गृह मन्त्रालयले एक विज्ञप्ति नै निकालेर शान्तिपूर्ण आन्दोलन र प्रदर्शन गर्न आग्रह गरेको थियो। यद्धपि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सीमित नेताहरुको उपस्थितिमा शान्तिपूर्ण प्रदर्शन हुने बताएका छन् ।

तीनकुने घटनामा संलग्न रहेको भन्दै आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरेको विरोधमा राप्रपाले विरोध प्रदर्शन गर्न लागेको हो। वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमसेर राणालगायतलाई चैत १५ गते नै प्रहरी पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्