झापा,बैशाख ११ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यो वर्षको साफ पुरुष च्याम्पियनसिप स्थगित गर्ने निर्णय गरेको छ।


श्रीलंकामा हुने भनिएको यो क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियसिपको १५औं संस्करण सन् २०२६ सम्मका लागि स्थगित गरिएको साफले जनाएको छ।
साफले सुरूमा यस वर्षको साफ च्याम्पियनसिपलाई ’होम एन्ड अवे’ ढाँचामा आयोजना गर्ने निर्णय गरेको थियो।
त्यसअनुसार तयारीसमेत गरिएको साफको भनाइ छ। तर साफ, सदस्य संघहरू र साझेदार संस्था स्पोर्टफाइभले सबैले प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्न अझ थप तयारी आवश्यक भएको महसुस गरेको साफको भनाइ छ।
सबै सरोकारवाला पक्षलाई पर्याप्त समय मिलोस् भन्ने उद्देश्यले साफ च्याम्पियनसिपलाई सन् २०२६ सम्मका लागि सार्ने निर्णय गरिएको साफले जनाएको छ।
सन् २०२६ मा फिफा विश्वकप पनि आयोजना हुने भएकाले प्रतियोगिताको समय र स्थानको छनोटमा विशेष ध्यान दिइन साफले बिहीबार बताएको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्