झापा, बैशाख २८ । आज साँझ आएको हावाहुरीले झापामा ठूलो क्षति गरेको छ ।

हावाहुरीले दमकमा धेरै क्षति पुर्याएको हो । दमकका धेरै घरहरुको छाना उडाएको र धेरै बिजुलीको पोल भत्काएको दमक नगरपालिकाका नगर प्रमुख राम थापाले बताए । उनले हावाहुरीले गरेको व्यापक क्षतिको विवरण निकाल्ने काम भइरहेको जानकारी दिए । दमक नगरपालिकाले नगर प्रहरीलाई आपतकालीन उद्धारको लागि फिल्डमा खटाएको छ ।
दमक प्रहरीका अनुसार साँझ ६ बजेको समयमा बर्षासंगै आएको हावाहुरीले दमक नगरपालिका वडा न. ४ संगमचोक बस्ने कमला अधिकारीको डेढ तले पक्की घरको माथिको तलाको सिडी छोप्ने जस्ता उडाएको छ । जसबाट अन्दाजी ३० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै सोही ठाउँ बस्ने भिमप्रसाद सिग्देलको पक्की घरको माथिल्लो तलाको दुई वटा कोठाको जस्ता उडाएको छ । जसबाट अन्दाजी ५० हजार बराबरको क्षति भएको छ । सिग्देलको कोठाभित्र रहेको कुलर , टिभी र फ्रिज पानीले भिजेको छ । त्यस्तै दमक नगरपालिका वडा नम्वर ८ बस्ने दुर्गा प्रसाईले संचालन गरेको दुर्गा काटा गल्ला भण्डारको जस्ता पाता पूर्णरुपमा उडाएको छ । फापर, धान, मकै स्टोर गरेको हलको ३५ वटा जस्ता पाता पूर्णरुपमा उडाएको र छानाको भागमा रहेको फलामको पाईपहरु समेत बाङ्गिएर क्षति भएको छ । प्रसाईको स्टोर हलभित्र रहेको ५५–६० बोरा फापर पानीले भिजेर क्षति पुगेको छ । जसबाट अन्दाजी एक लाख पचास हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । उनले दमक वडा नं ८ बालुवाटारमा पनि पाँचवटा घरको छाना उडाएको जानकारी प्राप्त भएको बताए ।


त्यस्तै आज साँझ आएको हावाहुरीले झापाको बाह्रदशी–७ बत्तीसविगाह क्षेत्रमा लगाएको केरा खेतीमा ठुलो क्षति पुगेको छ । ४० विगाहभन्दा धेरै क्षेत्रफलमा लगाइएको केरा खेतीमा लाखौंको नोक्सान भएको छ । आधाभन्दा धेरै केरामा क्षति पुगेको जनप्रतिनिधिसमेत रहेका किसान मिलन संग्रौलाले जानकारी दिए ।

संग्रौलाका अनुसार ५० प्रतिशत केरामा क्षति पुगेको छ । उनले लगाएको अढाई विगाह क्षेत्रफलको केरामा शतप्रतिशत क्षति भएको जानकारी दिए । एक विगाह बराबर ३ लाखदेखि ४ लाखसम्म क्षति हुने उनको अनुमान छ ।

त्यस्तै मेचीनगर नगरपालिका वडा नं.१५ गाईनाबारीमा धुलाबारी बस्ने कपिल क्षेत्री लगायत २÷३ जनाले सामूहिकरुपमा संचालन गरेको कामक्ष इण्डष्ट्रिज प्राईभेट लिमिटेड (प्लाई उद्योग) मा पानीसंगै आएको हावाहुरीले पिलिङ भवनको पश्चिम साईडको ट्रस जस्ताले बनेको छाना उडाएको छ । सोही ठाउँमा जडान गरेको १ वटा सीसीटीभी क्यामेरा समेतमा फुटाई अन्दाजी दुई लाख बिस हजार बराबरको क्षति भएको छ । त्यस्तै हावाहुरीले हल्दिबारी गाउँपालिका वडा न. ४ बलटोल बस्ने ६९ वर्षीय सकलदिप साहको टिनको छाना बाँसको टाटीबेराले बनेको तीन कोठे कच्ची घर उडाई पूर्णरुपमा क्षति हुँदा अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको छ ।

जिल्लाका विभिन्न ठाउँमा हावाहुरीले क्षति पुर्याएको र क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्