झापा,बैशाख २९ । भारतीय क्रिकेटर विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।


कोहलीले सोमबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै टेष्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् ।
क्रिकेटको लामो फम्र्याटमा कोहलीले १२३ खेल खेल्दै ४६.८५ को औषतमा ९ हजार २३० रन बनाएका छन् ।
‘टेष्ट क्रिकेटमा मैले पहिलो पटक ब्याग्गी ब्लु जर्सी लगाएको १४ वर्ष भइसक्यो । इमानदार भएर भन्नुपर्दा, यो फम्र्याटले मलाई जहाँसम्म ल्याउँछ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ । यसले मलाई परिक्षण ग¥यो, आकार दियो, र जीवनभर पाठहरू सिकायो,’ कोहलीले पोष्टमा लेखेका छन् ।
‘अब म यो फम्र्याटबाट टाढा हुँदैछु, यो सजिलो थिएन । तर मलाई ठीक जस्तो लाग्छ । मैले यो खेललाई जति दिन सक्थेँ, सबै दिएको छु, र यसले मलाई मैले सोचेभन्दा धेरै दिएको छ ।’ उनले भने ।
कोहलीले सधैँ मुस्कानका साथ आफ्नो टेस्ट करिअरलाई फर्केर हेर्ने बताएका छन् ।
कोहलीले सन् २०११ मा वेस्ट इन्डिजविरुद्ध टेस्टमा डेब्यु गरेका थिए । त्यसको तीन वर्षपछि उनी कप्तान बने।
उनले भारतका लागि ६८ वटा टेस्ट खेलमा कप्तानी गरे । जुन कुनै पनि भारतीय कप्तानले टेष्टमा कप्तानी गरेको धेरै हो । तीमध्ये केवल १७ खेल (२५ प्रतिशत) मात्र हारेका थिए । ५८.८२ प्रतिशत जित (४० जित, ११ बराबरी) सहित कोहली भारतका सबैभन्दा सफल टेस्ट कप्तानका रूपमा चिनिन्छन् ।

कोहलीको कप्तानीमा भारतले सन् २०१९ मा पहिलोपटक अष्ट्रेलियामा टेस्ट शृंखला जितेको थियो । उनको अन्तिम टेस्ट खेल पनि अष्ट्रेलियामै (सिड्नी) यसै वर्षको सुरुमा भएको बोर्डर–गावस्कर ट्रफीअन्तर्गतको खेल थियो । उक्त खेल अष्ट्रेलियाले ६ विकेटले जितेको थियो ।
कोहलीले टेष्ट क्रिकेटमा ३० शतक र ३१ अर्धशतक प्रहार गरेका छन् । उनले सन् २०१९ मा दक्षिण अफ्रिका विरुद्ध बनाएको अविजित २५४ रन उनको उच्च स्कोर हो ।
रोहित शर्माले टेष्टबाट सन्यास लिएको केही दिनपछि नै कोहलीले पनि टेष्टबाट सन्यास घोषणा गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्