झापा, बैशाख ३० । ताप्लेजुङमा प्रहरीको गाडी पल्टिदा असईसहित चार प्रहरी घाइते भएका छन् ।

गएराति ९.४० बजे ताप्लेजुङको फुङलिङ नगरपालिका –७ शनिवारे हटियालाइनमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको को १ झ ६०६ नम्बरको गाडी दुर्घटनामा परेको हो । प्रहरी सहायक निरीक्षक नन्दलाल बैठाको कमाण्डमा ५ जनाको टोली खटिएको मोबाईल गाडी एरिया क्लिएर गर्ने क्रममा बाक्लो हुस्सुका कारण टर्निङ गर्ने क्रममा अचानक पल्टिएको थियो ।

घाइते हुनेहरुमा प्रहरी सहायक निरीक्षक नन्दलाल बैठा ( बाँया खुट्टा, बाँया कुमको भागमा चोट, बाहिरी चोट नदेखिएको, अवस्था बोल्न सक्ने सामान्य), प्रहरी बरिष्ठ हवल्दार प्रकाशकुमार साह ( ढाडमा निलडाम भएको, अबस्था सामान्य ) , प्रहरी जवान ढाकबहादुर थापा ( टाउकोको बाँया साईड सुनिएको, अवस्था बोल्न सक्ने सामान्य) र प्रहरी जवान सुमन आङदेम्बे ( दाहिने आँखाको डिलमाथि चोट, दाहिने खुट्टा र दाहिने हात सुन्निएको, अवस्था बोल्न सक्ने सामान्य ) रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमको टोली खटिएर घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल ताप्लेजुङमा ल्याई उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्