झापा,जेठ २ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्न आदेश दिएको हो ।

पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा बोलाउनेगरी कानुन व्यवसायीको जिम्मा लगाउने गरी मिश्रलाई रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । त्यसअघि बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई पक्राउ गर्नको कारण देखाउ र बन्दी उपस्थित गराउने आदेश गरेको थियो ।

गत चैत १५ गते पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौँ पटक मंगलबार थप ५ दिन म्याद थप गरिएको थियो । राजावादीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको जनाएको छ ।

मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनकी पत्नी सारिका कार्कीले वैशाख ३० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्